कास्की — मोदी खोलामा आइतबार आएको बाढीले पक्की सडक बगाउँदा पर्यटकीय गाउँ घान्द्रुकसँगको सडक सम्पर्क विच्छेद भएको छ। सडक अवरुद्ध भएपछि घान्द्रुक घुम्न पुगेका करिब ३०० पर्यटक अलपत्र परेका छन्।
कास्कीको अन्नपूर्ण गाउँपालिका–८ र १० को सीमा क्षेत्र स्याउलीबजार नजिक मोदी खोलाले सडक बगाएपछि नयाँपुल–विरेठाँटी–घान्द्रुक सडकखण्डमा यातायात पूर्ण रूपमा बन्द भएको छ।
अन्नपूर्ण गाउँपालिका–११ स्थित किम्रुङ खोला थुनिएपछि आएको बाढीका कारण मोदी खोलाको बहाव एक्कासि बढ्दा सडक क्षतिग्रस्त भएको स्थानीय प्रशासनले जनाएको छ। सडक सम्पर्क टुटेपछि सवारीसाधनमार्फत यात्रा गरेका पर्यटक घान्द्रुकमै रोकिएका छन्।
घान्द्रुक पर्यटन व्यवसायी समितिका कोषाध्यक्ष कृष्ण गुरुङका अनुसार तीन दिनको सार्वजनिक बिदा मनाउन घान्द्रुक पुगेका करिब ३०० पर्यटक सडक अवरुद्ध भएपछि फर्किन नसकेर गाउँमै बसिरहेका छन्।
“खोलाले सडक बगाएकाले अहिले गाडी सञ्चालन हुन सकेको छैन। अधिकांश पर्यटक आफ्नै सवारीसाधन लिएर आएकाले बाटो खुल्ने प्रतीक्षामा हुनुहुन्छ,” उहाँले भन्नुभयो। “साना सवारीसाधनका लागि वैकल्पिक मार्ग सञ्चालन गर्ने सम्भावनाबारे पनि प्रयास भइरहेको छ।”
गाउँपालिकाका अनुसार मोटरसाइकल तथा स्कुटरमा यात्रा गरेका पर्यटकलाई घान्द्रुक–खुलिबाङ–मोहरिया–तमु हुँदै विरेठाँटी निस्कने कच्ची सडक प्रयोग गराउन वैकल्पिक मार्गको मर्मत कार्य भइरहेको छ।
अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीले घान्द्रुक भ्रमणमा आएका तथा अन्नपूर्ण आधार शिविर (एबिसी) पदयात्रामा रहेका पर्यटकको सहज आवतजावतका लागि स्थानीय प्रशासन र प्राविधिक टोली घटनास्थलमा खटिएको जानकारी दिनुभयो।
उहाँका अनुसार वर्षा कम हुँदै गएको र नदीको बहाव पनि घट्दै गएकाले क्षतिग्रस्त स्थानमा कम्तीमा एकतर्फी यातायात सञ्चालन गर्न सकिने सम्भावनाबारे प्रशासनसँग छलफल भइरहेको छ।
अन्नपूर्ण गाउँपालिका–११ मा रहेको घान्द्रुक गाउँ अन्नपूर्ण आधार शिविर (ABC) तथा घोरेपानी–पुनहिल पदयात्राको प्रमुख प्रवेशद्वारका रूपमा परिचित छ। सडक अवरुद्ध हुँदा पर्यटन गतिविधिमा समेत प्रत्यक्ष असर परेको छ।



