बैतडी — बैतडीमा अशक्त तथा अपाङ्गता भएका नागरिकले अब घरमै नागरिकता पाउने भएका छन्। जिल्ला प्रशासन कार्यालयले सञ्चालन गर्न लागेको ‘अशक्तको घरमा प्रजिअ’ कार्यक्रममार्फत उमेर पुगेका तर शारीरिक अशक्तता तथा अपाङ्गताका कारण नागरिकता लिनबाट वञ्चित नागरिकलाई घरमै पुगेर नागरिकता प्रदान गरिने भएको हो।
प्रमुख जिल्ला अधिकारी मीना अर्यालले नागरिकता प्राप्त गर्न प्रशासन कार्यालयसम्म पुग्न नसक्ने नागरिकलाई लक्षित गरी कार्यक्रम सञ्चालन गर्न लागिएको बताए ।
यसका लागि जिल्लाका १० वटै स्थानीय तहलाई शारीरिक अशक्तता तथा अपाङ्गता भएका नागरिकको विवरण सङ्कलन गरी पठाउन भनिएको छ। स्थानीय तहबाट विवरण प्राप्त भएपछि सम्बन्धित पालिकासँगको समन्वय र सहकार्यमा नागरिकको घर वा पायक पर्ने स्थानमा पुगेर नागरिकता प्रदान गरिने प्रजिअ अर्यालले जानकारी दिए ।
“सबै स्थानीय तहबाट अशक्त तथा अपाङ्गता भएका नागरिकको विवरण माग गरेका छौँ,” उनले भने, “विवरण आएपछि उनीहरूको घर तथा पायक पर्ने स्थानमा पुगेर प्रक्रिया पूरा गरी नागरिकता प्रदान गर्छौं।”
शारीरिक अशक्तता तथा अपाङ्गताका कारण जिल्ला प्रशासन कार्यालयसम्म पुग्न नसक्दा लामो समयदेखि नागरिकताको प्रमाणपत्र लिनबाट वञ्चित नागरिकलाई कार्यक्रमबाट प्रत्यक्ष लाभ पुग्ने प्रशासन कार्यालयले जनाएको छ।
विशेषगरी हिँडडुल गर्न कठिनाइ भएका, शारीरिक रूपमा अशक्त तथा प्रशासन कार्यालयसम्म पुग्न असहज हुने नागरिकलाई घरमै सेवा उपलब्ध गराउने तयारी गरिएको हो।
नागरिकता प्राप्त गर्न कार्यालयसम्म पुग्नुपर्ने बाध्यता हट्ने भएकाले कार्यक्रमले अशक्त तथा अपाङ्गता भएका नागरिकलाई राज्यबाट प्राप्त हुने सेवा र सुविधामा पहुँच बढाउन सहयोग पुग्ने प्रजिअ अर्यालले बताए ।
प्रशासन कार्यालयले स्थानीय तहबाट प्राप्त हुने विवरणका आधारमा लाभग्राही पहिचान गरी आवश्यक प्रक्रिया पूरा गरेर घरदैलोमै नागरिकता वितरण गर्ने तयारी गरेको छ।



