काठमाडौं – भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको सात दिन बितिसक्दा पनि रसुवा र नुवाकोटका जलविद्युत् आयोजनामा कार्यरत ९८३ जनाको अवस्था अझै अज्ञात छ । बाढीबाट प्रभावित आयोजनामा फसेका तथा सम्पर्कविहीन भएकाहरूको खोजी र उद्धार प्रयास जारी रहे पनि सबैसम्म पुग्न कठिनाइ भइरहेको छ ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले उपलब्ध गराएको विवरणअनुसार बाढीका कारण रसुवा र नुवाकोटमा सञ्चालनमा रहेका तथा निर्माणाधीन गरी १२ वटा जलविद्युत् आयोजना प्रभावित भएका छन् । ती आयोजनाको कुल जडित क्षमता ६६९ मेगावाट छ । प्रभावितमध्ये आठ आयोजना सञ्चालनमा छन् भने चार वटा निर्माणाधीन अवस्थामा छन् ।
सम्पर्कविहीन हुनेको संख्या रसुवामा बढी छ । रसुवाका ६ वटा प्रभावित आयोजनामा मात्रै ७१० जना सम्पर्कविहीन रहेको इप्पानको विवरण छ । माथिल्लो त्रिशूली–१, रसुवागढी, रसुवा–भोटेकोशी, लाङटाङ खोला, चिलिमे र मैलुङ खोला आयोजना बाढीबाट प्रभावित भएका हुन् । यी आयोजनाको कुल क्षमता ४९४ मेगावाट छ ।
नुवाकोटमा पनि बाढीले ६ वटा जलविद्युत् आयोजना प्रभावित बनाएको छ । त्रिशूली, देवीघाट, माथिल्लो त्रिशूली–३ ‘ए’, माथिल्लो त्रिशूली–३ ‘बी’, मिड्ल त्रिशूली गंगा र सौया आयोजनामा गरी २७३ जना सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ ।
सुरुङभित्र फसेकाको उद्धारमा कठिनाइ
बाढीपछि जलविद्युत् आयोजनामा सबैभन्दा ठूलो चुनौती सुरुङभित्र फसेकाहरूको उद्धार बनेको छ । ६० मेगावाटको माथिल्लो त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङमा फसेकाहरूको उद्धारका लागि प्राविधिक टोली निरन्तर खटिए पनि अहिलेसम्म उद्धार हुन सकेको छैन ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार उद्धारकर्ता पठाउन ‘ड्रिफ्ट’ लिंक खन्न चारवटा स्काभेटर प्रयोग गरिएको छ । सुरुङभित्र जमेको पानी बाहिर निकाल्ने र डेब्रिज हटाउने काम पनि भइरहेको छ ।
२२ मेगावाटको चिलिमे जलविद्युत् केन्द्रमा उद्धारका लागि भारतीय टोली, नेपाली सेना लगायत परिचालन भए पनि सुरुङसम्म आवश्यक मेसिनरी उपकरण पुर्याउन नसक्दा कामले गति लिन सकेको छैन । विद्युत्गृहसम्म पुग्ने बाटो सफा गरिए पनि बाढीले थुपारेको लेदो र हिलो हटाएर भित्र पहुँच बनाउनु अर्को चुनौती बनेको छ ।
रसुवागढीमा ९१ जनाको अवस्था अज्ञात
१११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनाबाट हराइरहेका ९१ जनाको अवस्था मंगलबारसम्म पनि पत्ता लाग्न सकेको छैन । नेपाली सेनाको नेतृत्वमा आयोजनास्थलको स्थलगत अवलोकन गरिए पनि थप उद्धार अघि बढाउन कठिनाइ भएको विवरणमा उल्लेख छ ।
हराइरहेकाहरूको खोजीका लागि प्रवर्द्धक कम्पनीले आवश्यक उपकरणसहित उद्धार प्रयास गरिरहेको छ । उद्धार कार्यलाई तीव्रता दिन कम्पनीले स्काभेटर खरिद गरी रसुवा लैजाने तयारीसमेत गरेको छ ।
लाङटाङ खोलामा ४१ जना सम्पर्कविहीन
२० मेगावाटको लाङटाङ खोला जलविद्युत् आयोजनामा पनि ४१ जना सम्पर्कविहीन छन् । उनीहरूको खोजी तथा उद्धारका लागि १३ जना प्राविधिक तथा विज्ञ परिचालन गर्ने तयारी गरिएको छ ।
आयोजनाबाट यसअघि १९ जनाको उद्धार भइसकेको जनाइएको छ । पेनस्टकमा कंक्रिटिङ गर्न पहुँच सुरुङमा गएका सात जना त्यहीँ फसेको अनुमान गरिएको छ ।
त्रिशूली–३ ‘बी’मा १९१ जना सम्पर्कविहीन
३७ मेगावाटको त्रिशूली–३ ‘बी’ आयोजनामा कार्यरत १९१ जना सम्पर्कविहीन रहेको विवरण छ । निर्माण कम्पनी, परामर्शदाता तथा प्रवर्द्धक कम्पनीमा कार्यरत उनीहरूको खोजी तथा उद्धार कार्य जारी छ ।
आयोजनाको सुरुङमा फसेका २३ जना यसअघि आफैं बाहिर निस्किएका थिए भने पाँच जनाको शव फेला परेको कम्पनीले जनाएको छ ।
माथिल्लो त्रिशूली–१ मा मात्रै ३८५ जना सम्पर्कविहीन
२१६ मेगावाटको माथिल्लो त्रिशूली–१ आयोजनामा बाढी आएको दिन १ हजार ४३३ जना कार्यरत रहेको विवरण छ । तीमध्ये उद्धार तथा सम्पर्कमा आएका ८७६ जना भए पनि विभिन्न कम्पनी तथा ठेकेदारसँग सम्बन्धित ३८५ जना अझै सम्पर्कविहीन रहेको आयोजनाले जनाएको छ ।
सुरुङभित्र लेदो र डेब्रिज भरिएकाले खोजी तथा उद्धारमा थप कठिनाइ भएको छ । आयोजनाले ड्रोनबाट समेत हराइरहेकाहरूको खोजी गरिरहेको जनाएको छ । अडिट–१ मा लेदो पसेर डेब्रिजले सुरुङ पुरिएकाले उद्धारका लागि अनुभवी अन्तर्राष्ट्रिय विज्ञ आवश्यक रहेको कम्पनीको भनाइ छ ।
बाढीका कारण मानवीय संकटसँगै जलविद्युत् आयोजनाका उत्पादन तथा निर्माण संरचनामा समेत क्षति पुगेको छ । सुरुङ, विद्युत्गृह, पहुँचमार्गलगायत संरचना प्रभावित भएपछि एकातर्फ हराइरहेकाहरूको खोजी तथा उद्धार गर्नुपर्ने अवस्था छ भने अर्कोतर्फ आयोजनाको पुनःस्थापना पनि चुनौतीपूर्ण बनेको छ ।
इप्पानका अनुसार विभिन्न आयोजनाबाट प्राप्त विवरण अझै अद्यावधिक भइरहेकाले सम्पर्कविहीन व्यक्तिको संख्या तथा अवस्थाबारे थप विवरण आउन सक्नेछ ।



