पर्वत – म्याग्दीको सदरमुकाम बेनीबजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकामा भूमि समस्या समाधान समिति पर्वतले भूमिहीनलाई जग्गाधनी प्रमाणपुर्जा उपलब्ध गराउने उद्देश्यले जग्गा नापजाँच सुरु गरेको छ।
भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाणपुर्जा उपलब्ध गराउने उद्देश्यसहित जलजला गाउँपालिका–३, पर्वत बेनीमा बुधबारदेखि स्थलगत नापजाँच सुरु गरिएको हो।
समितिका अध्यक्षसमेत रहेका प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद पौडेलले वडा र गाउँपालिकाबाट प्रमाणित भएका निवेदकको जग्गा स्थलगत रूपमा नापजाँच गर्न थालिएको जानकारी दिए । उनका अनुसार अन्य वडा तथा स्थानीय तहमा पनि नापजाँचको काम क्रमशः अघि बढाइनेछ।
नापजाँचपछि आवश्यक प्रतिवेदन तयार गरी जग्गा पहिचान तथा कित्ताकाट गरिनेछ। सार्वजनिक जग्गा व्यक्तिको नाममा दिन मिल्ने भए सरकारबाट स्रेस्ता कायम गरी सम्बन्धित व्यक्तिको नाममा हस्तान्तरण गर्ने प्रक्रिया अघि बढाइने समितिले जनाएको छ। त्यसपछि सम्बन्धित पालिकामै पुगेर जग्गाधनी प्रमाणपुर्जा वितरण गर्ने कार्ययोजना बनाइएको छ।
यसअघिका जिल्ला भूमि आयोगमा रहेका अभिलेख तथा प्राप्त निवेदनका आधारमा नापजाँच सुरु गरिएको हो। नापी कार्यालय पर्वतका प्रमुख नापी अधिकृत दिनेश लामिछानेका अनुसार जिल्लाका स्थानीय तहबाट १ हजार ८८ जना भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको निवेदन प्रमाणीकरण भएर समितिमा आएको छ।
उनका अनुसार जलजला गाउँपालिकाबाट मात्रै ३४० जनाको निवेदन प्रमाणीकरण भएर आएको छ। नापजाँचसँगै समितिको कार्यादेश, क्षेत्राधिकार तथा निर्धारित मापदण्डका आधारमा जग्गाधनी प्रमाणपुर्जा वितरणको तयारी भइरहेको उनले बताए ।
जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले नापजाँचपछि विधि, प्रक्रिया र मापदण्डअनुसार उपलब्ध गराउन मिल्ने जग्गा भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई प्रदान गरिने बताए । मापदण्डअनुसार व्यक्तिको नाममा दिन नमिल्ने सार्वजनिक जग्गा खाली गराई संरक्षण गरिने उनकाे भनाइ छ।
स्थानीय यमुना परियारले करिब तीन दशकदेखि बस्दै आएको जग्गाको नापजाँच सुरु भएपछि लालपुर्जा पाउने आशा जागेको बताए । वर्षौँअघि जग्गाधनी प्रमाणपुर्जाको आशामा निवेदन दिएको उल्लेख गर्दै उहाँले नापजाँच सुरु भएकामा खुसी व्यक्त गरे ।



