काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदका परिवारको पीडाप्रति सरकार गम्भीर हुनुपर्ने बताएका छन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै शाहीले सरकार गठन भएको छ महिना बितिसक्दा पनि जेनजी आन्दोलनका घटनामा दोषी देखिएकामाथि कारबाही हुन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन्।
शाहीले राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनका घटनाबारे अनुसन्धान गरी सरकारलाई प्रतिवेदन तथा सिफारिस बुझाइसकेको उल्लेख गर्दै त्यसको कार्यान्वयनमा ढिलाइ भइरहेको बताए। आयोगले २०८२ भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा भएका मानव अधिकार उल्लङ्घनबारे अनुसन्धान गरी २०८३ जेठमा सरकारलाई सिफारिस कार्यान्वयन गर्न पत्राचार गरेको थियो।
‘सत्तापक्ष पार्टीकी सांसद हुनुहुन्छ, जेनजी आन्दोलनकी शहीदकी आमा अहिले रुनुभयो। तपाईंहरूले सरकार चलाएको छ महिना भयो। राष्ट्रिय मानव अधिकार आयोगले प्रतिवेदन बुझाइसकेको छ। को–को दोषी हुन् भनेर प्रमाणसहित प्रतिवेदन बुझाएको छ महिना भयो,’ शाहीले भने, ‘अपराधीलाई आजसम्म किन पक्रिनुभएको छैन?’
उनले जेनजी आन्दोलनका घटनामा संलग्न जोसुकै भए पनि कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने बताए। सत्तापक्ष वा प्रतिपक्ष जुनसुकै पक्षका व्यक्ति भए पनि अनुसन्धान गरी दोषी देखिए कारबाही गर्नुपर्ने उनको भनाइ थियो।
‘यदि पक्रिन सक्नुहुन्न भने सत्ताको कुर्सीमा किन बसिराख्नुभएको छ? ती आमाको आँखाको आँसु पुछ्नुस्,’ शाहीले भने, ‘जेनजी आन्दोलनमा जो–जो अपराधी छन्, चाहे सत्तापक्षका हुन् चाहे प्रतिपक्षका हुन्, यिनीहरूलाई समाउँदै जेल हाल्नुस्।’
आयोगले जेनजी आन्दोलनका क्रममा भएको मानव अधिकार उल्लङ्घनका विषयमा तत्कालीन प्रधानमन्त्री, गृहमन्त्री, सञ्चारमन्त्री तथा सुरक्षा निकायका अधिकारीसहित विभिन्न व्यक्तिमाथि अनुसन्धान तथा कारबाहीका लागि सिफारिस गरेको थियो। केही व्यक्तिका हकमा थप अनुसन्धान गर्नसमेत आयोगले सरकारलाई सिफारिस गरेको छ।
शाहीले संसद्मा शहीदकी आमा रोइरहेको अवस्थाप्रति सरकार संवेदनशील हुनुपर्ने बताउँदै न्यायको माग गर्दै आएका परिवारलाई राज्यले जवाफ दिनुपर्ने बताए।
‘संसद्मा एक जना सांसद रुँदै गर्दा कुर्सीमा तपाईंहरू कसरी बस्न सक्नुहुन्छ? पक्राउ गर्नुस्,’ उनले सरकारलाई आग्रह गरे।



