श्रमिकलाई एक महिनाको तलब बराबर चाडपर्व खर्च नदिने रोजगारदाताविरुद्ध श्रम कार्यालयमा उजुरी गर्न सकिने

काठमाडौँ – श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले श्रमिकलाई अनिवार्य रूपमा एक महिनाको आधारभूत पारिश्रमिक बराबरको चाडपर्व खर्च उपलब्ध गराउन सबै रोजगारदाता तथा प्रतिष्ठानलाई निर्देशन दिएको छ।

विभागले बिहीबार विज्ञप्ति जारी गर्दै श्रम ऐन, २०७४ मा भएको व्यवस्थाअनुसार श्रमिकलाई चाडपर्व खर्च उपलब्ध गराउन ध्यानाकर्षण गराएको हो।

श्रम ऐन, २०७४ को दफा ३७ अनुसार प्रचलित धर्म, संस्कृति तथा परम्पराअनुसार मनाइने चाडपर्वका लागि प्रत्येक श्रमिकले आफूले खाइपाइ आएको एक महिनाको आधारभूत पारिश्रमिक बराबरको रकम प्रत्येक वर्ष चाडपर्व खर्चका रूपमा पाउने कानुनी व्यवस्था छ। सोही व्यवस्थाको कार्यान्वयन गर्न विभागले रोजगारदाता तथा प्रतिष्ठानलाई निर्देशन दिएको हो।

विभागका उपमहानिर्देशक विपिन राजभण्डारीद्वारा जारी विज्ञप्तिमा रोजगारदाता वा प्रतिष्ठानले कानुनबमोजिमको चाडपर्व खर्च उपलब्ध नगराएमा सम्बन्धित श्रमिक वा कामदारले उजुरी दिन सक्ने उल्लेख छ।

चाडपर्व खर्च नपाएका श्रमिकले आफ्नो कार्यक्षेत्र पर्ने श्रम तथा रोजगार कार्यालय वा श्रम तथा व्यवसायजन्य सुरक्षा विभागमा उजुरी तथा निवेदन दिन सक्ने विभागले जनाएको छ।