आईसीसी विश्वकप : नेपालले यूएईलाई २३० रनको लक्ष्य दियो

काठमाडौं, फागुन २२ गते । आईसीसी विश्वकप लिग टू क्रिकेटको जारी त्रिकोणत्मक शृंखलाको आफ्नो अन्तिम खेलमा नेपालले यूएईलाई २३० रनको लक्ष्य दिएको छ ।

दुबईमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले भीम सार्कीको अर्धशतक सहयोगमा निर्धारित ओभरमा ८ विकेट गुमाएर २२९ रनको योगफल खडा गरेको हो ।

४९ रन बनाउँदा ३ विकेट गुमाएर नेपाल संकटमा परेका बेला ब्याटिङमा आएका भीम सार्कीले अर्धशतक पूरा गरे । उनी ९९ बलमा ७० रन बनाउँदै आउट भए ।

२०२२ मार्चमा भएको सिरिजमा नेपालका लागि डेब्यु गरेका भीमको राष्ट्रिय टिमबाट यो पहिलो अर्धशतक हो । सार्कीले सन्दीप लामिछानेसँग मिलेर छैटौं विकेटका लागि ५६ रनको साझेदारी गरे । लामिछाने २७ रनमा आउट भए ।

कुशल मल्ल ३२ तथा करन केसी १७ रनमा आउट भए ।

यसअघि नेपालको सुरुवात राम्रो हुन सकेको थिएन । ओपनरद्वय आसिफ शेख ६ र ज्ञानेन्द्र मल्ल ११ दीपेन्द्र सिंह ऐरी ४ तथा रोहित पौडेल १ रनमा आउट भएका थिए ।

लिग टू शृंखलाको शीर्ष तीनभित्र रहनका लागि नेपालले यो खेल जित्नैपर्ने छ ।