नारी दिवसमा आ-आफ्नै मौलिकता

काठमाडौं, फागुन २४ गते । आज मार्च ८ अर्थात् अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै छ । संयुक्त राष्ट्र संघवाट ‘Digitall: Innovation and Technology for Gender Equality’ नारा तय भएको छ ।

नेपालमा भने ’लैङ्गिक समनताका लागि बलियो आधार, सिर्जनात्मक प्रबिधिमा महिलाको पहुँच’’ भन्ने राष्ट्रिय नाराका साथ विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै छ ।

अन्तर्राष्ट्रिय महिला दिवसमा महिलाहरू सामाजिक चेतना विकासमा जोड दिने, राजनीतिक पहुँच बढाउने, न्यायलयमा समानताको हक खोज्ने आर्थिक र उत्पादनको क्षेत्रमा भागीदारी हुने, सम्मानजक श्रम र श्रम मूल्यमा समानता कायम हुनुपर्ने एजेन्डासहित हरेक वर्ष संसारभर विभिन्न कार्यक्रम गरेर मार्च ८ मा अन्तर्राष्ट्रिय महिला दिवस मनाउने गरिन्छ ।

नेपालमा जस्तै विश्भरीका धेरैजसो देशले यस दिन सार्वजनिक बिदा दिने गरेका छन् । कतिपय देशले भने नारी दिवस फरक ढंगले मनाउने गरेका छन्, जसको आफ्नै मौलिकता झल्किन्छ ।

रुसमा यस दिवसको अघिल्लो दिनदेखि पछिल्ला दिनहरुमा फूलको व्यापार अन्य दिनभन्दा दोब्बर हुन्छ । मानौं, भ्यालेन्टाइन डेलाई झल्को दिनेगरी फूल एक अर्कालाई दिएर नारी दिवस मनाइन्छ ।

इटलीमा भने यो दिन पहेँलो रङको फूल एकअर्कालाई दिएर मनाइन्छ । यो परम्परा दोस्रो विश्व युद्धपछि रोमबाट थालिएको ठानिन्छ । अमेरिकामा मार्च ८ लाई मात्र होइन, मार्चभर नै महिलाको ऐतिहासिक महिना मानिन्छ ।

चीनमा भने नेपालमा जस्तै मार्च ८ मा महिलाहरूलाई आधा दिन बिदा दिइन्छ, तर धेरै रोजगारदाताले आफ्ना महिला कर्मचारीलाई आधा दिन बिदा दिँदैनन्। चीनमा भने पछिल्लो समय रोजगारदाता कम्पनीहरुलाई राज्यले क्रमशः बिदा दिन बाध्य गराउँदै छ ।