वैकल्पिक खेतीको रुपमा विस्तार हुँदै किवी खेती

फुङ्लिङ, कात्तिक २८ गते । ताप्लेजुङका किसानले पछिल्लो समयमा वैकल्पिक खेतीको रुपमा किवी खेती विस्तार गर्दै लगेका छन् । अन्य नगदेबालीको तुलनामा किवी कम लगानीमा राम्रो आम्दानी लिन सकिने जनाइएको छ ।
फुङ्लिङ नगरपालिका–११ बमबहादुर भट्टराईले अलैँची बगानमा किवी खेती विस्तार गदै लैजानुभएको छ । उहाँले भन्नुभयो,“अलैँचीको विकल्पका रुपमा किवी खेती विस्तार गर्दै लगेको छु ।” अलैँचीमा विभिन्न रोग तथा मूल्यमा उतारचडाव आइरहने भएकाले अलैँचीको विकल्पमा किवी खेती विस्तार गर्दै लैजानुभएको उहाँको भनाइ छ । सोही वडाका लालीखर्क क्षेत्र एक पर्यटकीय क्षेत्र हो । तर सडक विस्तार भएसँगै लालीखर्क ओझेलमा पर्दै गएपछि शुक्रराज लिम्बूले पर्यटकीय क्षेत्रमा किवी खेती विस्तार गर्नुभएको छ ।
लालीखर्कमा पर्यटक आउजाउ शून्य भयो । होटल बन्द भयो । छरछिमेक घर छोडेर बसाई सरेर जानुभयो । पर्यटकको खचाखच हुने लालीखर्कका फाँटमा उराठ लाग्न थाल्यो । पर्यटकको क्याम्प क्षेत्र सुनसान भएसँगै केही होटल सञ्चालकले आफ्नो घर त्यतिकै छोडेर बसाई सरेर गएका छन् । घर भने त्यतिकै छ । स्थानीय युवा शुक्रराज लिम्बूले भने सुनसान भएको लालीखर्कका फाँटमा सम्भावनाको खाजी गर्न थाल्नुभयो । रित्तिएको बस्तीमा उजाड बनाउने सपनाका साथ वैकल्पिक सम्भावनाको खोजी गर्ने क्रममा किवी खेतीले लिम्बूको मन तान्यो ।
उहाँले किवी खेती विस्तारै गर्नु थाल्नुभयो । लालीखर्कका फाँटमा किवीको बोट झाङ्गिन थालेको छ । सात रोपनी क्षेत्रफल जमिनमा किवी खेती विस्तार गर्नुभएको उहाँले बताउनुभयो । अर्को वर्षदेखि व्यावसायिक उत्पादन हुने उहाँको भनाइ थियोे । कृषि ज्ञान केन्द्र ताप्लेजुङले किवी किसानलाई रु पाँच लाख अनुदान दिएको छ । रु पाँच लाख अनुदानबाट किवीको फलामे थाङ्क्राको व्यवस्थापन गर्नुभएको किसान लिम्बूले बताउनुभयो ।
जिल्लामा पछिल्लो समय किवी फलको व्यावसायिक खेती गर्न थालिएको छ । किवीबाट राम्रो आम्दानी हुन थालेपछि किसानले व्यावसायिक खेती लगाउन थालेका हुन् । खेतीमा संलग्न किसानले किवी फल आम्दानीको राम्रो स्रोत बनेको बताउनेगरेका छन् । फुङ्लिङ –७ का स्थानीय राजकुमार गुरुङले आफ्नो चार रोपनी क्षेत्रफल बराबरको जमिनमा किवी खेती लगाएको र सोबाट राम्रो आम्दानी भइरहेको सुनाउनुभयो । यहाँले कमै, कोदोजस्ता खेती गर्ने बारीमा किवी खेती विस्तार गर्नुभएको हो ।
छ वर्षअघि व्यावसायिक किवी खेती सुरु गर्नुभएका गुरुङले तीन वर्षयता किवी खेतीबाट राम्रो आम्दानी लिँदैआएको बताउनुभयो । उहाँले गत वर्ष किवीबाट रु दुई लाख ५० हजार आम्दानी गरेको र यस वर्ष पनि हाल धमाधम किवी बिक्री गर्न सुरु भएकाले राम्रै आम्दानी हुनेमा विश्वस्त रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार यस वर्ष किवीको बजार मूल्य पनि राम्रो रहेको छ ।
उहाँजस्तै जिल्लामा धेरै किसानले किवीको व्यावसायिक खेती गर्दैआएका छन् । फुङ्लिङ नगरपालिकाबाहेक सिरिजङ्घा , फक्ताङ्लुङ , सिदिङ्वा, मैवाखोला गाउँपालिका लगायतका क्षेत्रमा स्थानीय किसानले व्यावसायिक किवी खेती लगाएका छन् ।
एक पटक बिरुवा रोपेपछि धेरै वर्षसम्म फल्ने भएकाले किवीबाट राम्रो फाइदा हुने सिरिजङ्घा –५ पेदाङका स्थानीय खेलप्रसाद बुडाक्षेत्रीले बताउनुभयो । सुरुमा जिल्लामा किवी खेती विस्तार गर्नुपर्छ भनेर विभिन्न किसानलाई प्रेरित गर्दै किवी खेतीका अभियान्ताका रूपमा परिचित बुडाक्षेत्रीले किवी आम्दानीको भरपर्दो र राम्रो स्रोत भएको बताउनुभयो ।
आम्दानीको राम्रो स्रोत बन्ने अधिक सम्भावना बोकेको किवी फलका लागि व्यवस्थित बजारको आवश्यक रहेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो “बजार अभावका बाबजुद किसानले खेतीमा गरेको लगानीअनुसार निकै राम्रो आम्दानी गरिरहेका छन् ।”
किवीको स्थानीय बजार मूल्य प्रतिकिलोग्राम रु दुई सय ५० सम्म रहेको छ । हाल किवीको मौसम सुरु भएसँगै अर्थात् पाक्न थालेपछि धमाधम बिक्री गर्न सुरु गरेको किसानको भनाइ छ । सदरमुकाम फुङ्लिङसहित स्थानीय बजारमा किवी बिक्री गर्दै आएका किसानले जिल्ला बाहिर झापा, मोरङ र सुनसरीलगायतका व्यापारीबाट पनि किवीको माग हुन थालेको किसान अमृता गुरुङले बताउनुभयो ।
फलफूलको राजा उपनामले परिचित फल किवीले बजार विस्तार हँुदै गएको छ । ताप्लेजुङसहित पूर्वका अधिकांश पहाडी तथा हिमाली जिल्लाका किसानले किवीको राम्रो बजार देखेपछि किवीखेतीप्रति प्रभावित भएर किवीखेती गर्न थालेका छन् । ताप्लेजुङमा सात÷आठ वर्षअघिदेखि किसानले किवीखेती सुरु गरेको पाइन्छ ।
अहिले धेरै किसानले व्यावसायिकरूपमा किवीखेती लगाउन सुरु गरेका छ । किसानले लगाएको खेतीबाट किवी उत्पादन हुन थालेसँगै बजारमा किवीको माग निरन्तर बढ्दै गएको छ । गत वर्ष ताप्लेजुङमा सुरुमा प्रतिकिलो रु छ सयसम्म खरिद÷बिक्री भएको किसानहरूको भनाइ छ ।
फक्ताङ्लुङ –४ इखाबुका स्थानीयवासी बुद्ध काम्बाङले पनि किवीबाट राम्रो फाइदा लिन सकिने अवस्था रहेको बताउनुभयो । शीतभण्डारको व्यवस्था भएमा किवीलाई लामो समयसम्म राखेर उपभोग गर्न सकिने उहाँको भनाइ छ । किवीलाई प्रशोधन गरेर जुस, वाइनलगायत पेय बनाएर उपभोग गर्न सकिने र यसबाट किसानले आम्दानी गर्नसक्ने अवस्था रहेको उहाँले बताउनुभयो ।