उपराष्ट्रपतिमा तीन दलले दाबी नछाेडेपछि गठबन्धनको बैठक बिनानिष्कर्ष टुंगियो, आजै वा भोलि पुनः बस्ने

काठमाडौं, फागुन २६ गते । उपराष्ट्रपतिको उम्मेदवार टुंग्याउन भन्दै बसेको नौ दलीय गठबन्धनको कार्यदलको बैठक बिनानिष्कर्ष टुंगिएको छ । सिंहदरवारमा शुक्रबार अपरान्ह बसेको कांग्रेस उपसभापति पूर्णबहादुर खड्का नेतृत्वको कार्यदलको बैठकले उपराष्ट्रपतिको उम्मेदवार टुंगो लगाउन नसकेको हो ।

भोलि शनिबार उम्मेदवार मनोनयन गर्नुपर्ने चुनावी तालिका रहेकाले आजै वा भोलि बिहान पुनः कार्यदलको बैठक बस्नेगरी बिहीबार बिनानिष्कर्ष टुंगिएको हो । निर्वाचन आयोगले खसआर्य समुदायका व्यक्ति र पुरुषलाई उपराष्ट्रपति बनाउन नमिल्ने बताएपछि गठबन्धनमा अन्योल देखिएको छ ।

बिहीबार कार्यदलको बैठक बसिरहेका बेला कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले फोन गरेर प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासँग उपराष्ट्रपतिको उम्मेदवारबारे जानकारी लिनुभएको थियो । जवाफमा थपलियाले उपराष्ट्रपतिमा महिला उम्मेदवार हुनुपर्ने जानकारी गराउनुभयो ।

पुरुष उम्मेदवार बन्न नपाउने भएपछि कार्यदलको बैठक पुनः बस्नेगरी टुंगिएको हो ।
आठदलीय गठबन्धनको तर्फबाट जसपाका रामसहायप्रसाद यादवलाई उम्मेदवार बनाउने तयारी थियो भने नागरिक उन्मुक्ति र जनमतले पनि उपराष्ट्रपतिमा दाबी गरेका छन् ।