नयाँ वर्षसँगै पर्यटकलाई निम्तो गर्दै पोखरा

कास्की, चैत २४ गते । पर्यटकलाई निम्ता गर्दै नेपाली नयाँ वर्षको अवसरमा होटल सङ्घ पोखराले फेवा नववर्ष महोत्सवको आयोजना गरेको छ । पर्यटकको स्वागतमा जागिरहने पोखरामा पर्यटक आवागमन न्यून भइरहेकाले नेपाली नयाँ वर्षसँगै यो अवस्था नरहने विश्वास व्यवसायीको छ ।

चैत २९ गतेबाट तीन दिन १८औँ फेवा नववर्ष महोत्सव मनाउने होटल सङ्घका अध्यक्ष लक्ष्मण सुवेदीले बताउनुभयो। पोखरा–६ लेकसाइडको दुई किलोमिटर सडकमा महोत्सवका निम्ति सवारीसाधन आवागमन पनि रोकेर कार्यक्रम गरिँदै छ। महोत्सवले गण्डकी प्रदेशको जातीय वेशभूषा, रहनसहन, खानपान, सांस्कृतिक पक्षहरूको उजागर र प्राकृतिक सम्पदाहरूको प्रवद्र्धन गर्ने जनाइएको छ।

नववर्ष महोत्सवले पोखराका होटल कम्तीमा आधा भरिन सक्ने र यसले पर्यटन व्यवसायमा नयाँ उत्साह थप्ने अध्यक्ष सुवेदीको विश्वास छ। महोत्सवको अवसर पारी होटलहरूले छुटको व्यवस्थासमेत गरेका छन्। पर्यटकीय मौसममा ८० देखि ९० प्रतिशत होटल भरिनुपर्नेमा अहिले २० देखि २५ प्रतिशत मात्र भएको सुवेदीले बताउनुभयो। होटल टिक्न पनि ५० प्रतिशत भरिनुपर्ने उहाँले बताउनुभयो।

कोरोनापछि लयमा फर्किन लागेको पर्यटन व्यवसाय फेरि सङ्कटमा परेको होटल सङ्घ सचिव पार्वती पहारीको भनाइ छ। पोखरामा पर्यटक आइरहेको भए पनि व्यवसायी धेरै हुँदा सबैले लाभ लिन नसकेको उहाँको भनाइ छ। हवाई तथा सडकमार्गका कारण पनि पर्यटक आवागमनमा कमी आएको पाण्डेले बताउनुभयो।