हिमाली क्षेत्रमा लटरम्म आँप फल्दा स्थानीय दंग

मुगु, चैत २५ गते । तराईमा फल्ने आँप हिमाली जिल्लामा लटरम्म फल्दा मुगुका स्थानीय दंग छन् । जिल्लाको खत्याड गाउँपालिका वडा नम्बर ८ सुकाढिक गाउँका गंगाराम गिरीको बारीमा यतिबेला लटरम्म आँप फुलेका छन् ।

गत वर्ष पहिलोपल्ट उहाँको बारीमा झन्डै ५ क्विन्टल आँप उत्पादन भइको थियो । बिरुवा लगाएको ५ वर्षपछि आँप फल्दा उहाँ निकै उत्साही हुनुहुन्छ । ‘पहिले आरु, केरा, ओखरलगायत फल्थ्यो,’ उहाँले भन्नुभयो, ‘गाउँमा फल्छ कि फल्दैन भनेर सामान किन्न नेपालगन्ज गएका बेला ख्यालैख्यालमा आँपको बिरुवा ल्याएको थिएँ, अहिले लटरम्म फलेको छ, खुसी छु ।’

‘यसअघि आँप ल्याउन तराई झर्नुपर्थ्यो,’ उहाँले भन्नुभयो ‘अब त गाउँमा फलेको आँप तराई पठाउन पाइने भयो,’। मुगुको बेंसी मानिने सुकाढिक समुद्र सतहदेखि झन्डै १२ सय मिटर उचाइमा छ । १ सय ५६ घरधुरी रहेको गाउँका अधिकांश स्थानीयले आरु र ओखरका बोट काटेर अहिले धमाधम आँपका बिरुवा लगाउन थालेका छन् । गाउँमै तराईमा फल्ने आँप, मेवा, अम्बा, अनारलगायत फलफूल उत्पादन हुन थालेपछि स्थानीयको आयआर्जनमा वृद्धि भएको कमला बुढाले बताउनुभयो ।

उहाँका अनुसार उत्पादित फलफूल गम्था, माझझचौर, सदरमुकाम गमगढी, बाजुराको कोल्टी बजारलगायत ठाउँ जान थालेको छ । गत वर्ष झन्डै ३० क्विन्टल अम्बा बिक्री गरेर ९० हजार रुपैयाँ आम्दानी भएको उहाँले बताउनुभयो । गत वर्ष ३० रुपैयाँ प्रतिकिलो अम्बा बिक्री भएको थियो ।