एक करोडमा आँप ठेक्कामा 

सर्लाही, जेठ ८ गते ।  लालबन्दी नगरपालिका–१ स्थित नवलपुरकोे उष्ण प्रदेशीय बागवानी केन्द्रले यसवर्ष रु एक करोड ११ लाख ६० हजारमा आँप ठेक्का लगाएको छ ।
केन्द्रका निमित्त प्रमुख रामकुमार यादवले यसवर्ष विगतको तुलनामा धेरै आँप फलेकाले सबैभन्दा बढी रकममा आँप ठेक्का लागेको बताउनुभयो ।
करिब तीन सय बिघा क्षेत्रफलमा फैलिएको बागवानी केन्द्रमा छ हजार आँप र छ सय २१ लिचीका बोट छन् । यहाँ ३५ जातका आँप र आठ जातका लिचीका बोट छन् ।
बगैँचामा भारतमा पाइने बम्बई, मालदह, दसहरी, अम्रपालि, कलकतिया, निलम, मलिका, सुकतारा, सिपिया, कृष्णभोग र जर्दा जातका आँप छन् भने पाकिस्तानमा पाइने अमनदसहरी, फजिली, अनबरतौल, नुरजाहा र अबेहयात जातका आँपका बोट छन् ।
साथै थाइल्याण्डमा पाइने डकमाइ र अमेरिकामा पाइने हेडेन तथा केन्ट जातका आँप पनि छन् भने अर्लीलार्ज रेड, शाही, मुज्फरपुर, सिडलेस, मैक्लिन, बम्बई, कलकतिया र चाइन गरी आठ प्रजातिका लिचीका बोट छन् ।
यस वर्षका लागि लिची रु १२ लाख १८ हजारमा ठेक्का लगाइसकेको केन्द्रका निमित्त प्रमुख यादवले बताउनुभयो । “केन्द्रमा यसवर्ष विगतका तुलनामा आँप धेरै फले पनि लिची भने कम फलेको तर लिचीमा पनि विगतको तुलनामा बढी रकममा ठेक्का लागेको छ”, उहाँले भन्नुभयो ।
यसवर्ष आँपमा औषधि तथा विषादी छर्कनका लागि करिब रु २४ लाख खर्च गरी आधुनिक मेसिनसमेत खरिद गरेर ल्याइएको केन्द्रले जनाएको छ । जमिनबाट ६० फिट उचाइसम्म सजिलै विषादी छर्न सकिने यो मेसिन नेपालमै पहिलो पटक प्रयोग भइरहेको केन्द्र प्रमुख यादवले बताउनुभयो ।