नाग्म–गमगढी सडक कालोपत्रे नहुँदा रारा पुग्ने पर्यटकलाई सास्ती

काठमाडौँ, जेठ १९ गते । आन्तरिक तथा बाह्य पर्यटनको रोजाइमा परेको मुगुस्थित रारा ताल जाने नाग्म–गमगढी सडक कालोपत्रे नहुँदा पर्यटकलाई सास्ती भएको छ ।
यो ठूलो सङ्ख्यामा आन्तरिक पर्यटक रारा पुग्ने समय भएको तर नाग्म–गमगढी सडक कालोपत्रे नहुँदा यात्रा असहज बनेको रारा राष्ट्रिय निकुञ्जका प्रमुख विश्वबाबु श्रेष्ठले जानकारी दिनुभयो ।
उक्त सडकखण्ड कालोपत्रेका लागि बजेट विनियोजित नभएको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ । सङ्घीय सरकारले यही जेठ १५ मा ल्याएको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा उक्त सडकखण्ड प्रथामिकतामा परेको छैन ।
यो सडक स्तरोन्नति नहुँदा सवारी दुर्घटना भइरहेको छ । वर्षौँदेखि स्थानीय र पर्यटकले समेत सास्ती पाउँदा पनि बजेटमा यसले प्राथमिकता नपाउँदा स्थानीय असन्तुष्ट बनेको सिञ्जा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिनुभयो ।
“आगामी आवको बजेटमा नाग्म–सिञ्जा–गमगढी सडकमा रकम बिनियोजन नहुनु दुःखको कुरा हो । जुम्ला र मुगुबाट प्रतिनिधित्व गर्नुहुने सांसदले यस विषयमा  तत्काल अर्थमन्त्रीको ध्यानाकर्षण गराउँदै सशोधन प्रस्ताव दर्ता गर्नुपर्छ”, उहाँले भन्नुभयो ।
उहाँले संसदमा बोलेर मात्र नहुने भन्दै प्रभावकारी समन्वयको आवश्यकता रहेको बताउनुभयो । “यो बाटोमा प्रदेश सरकारले बजेट छुट्याउँदैन तर पनि रारा ताल जाने बाटो कालोपत्रे गर्न सरकारको ध्यान गएको छैन”, उहाँले भन्नुभयो, “पर्यटन प्रबद्र्धनमा लागेको सरकारले यसतर्फ ध्यान दिनु जरुरी छ ।”
कर्णाली राजमार्ग हुँदै नाग्म–गमगढी सडक भएर रारा ताल पुग्न सकिन्छ । यो सडक जुम्लाका हिमा, सिञ्जा र कनकासुन्दरी गाउँपालिका हुँदै रारा पुग्छ । सडक खुलेको लामो समय भइसक्दा पनि कालोपत्रे नहुँदा हिउँदमा धुलाम्य र बर्खामा हिलाम्य हुने गरेको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ ।