बजेट असफल बनाउने कसरत !

काठमाडौं- सरकारले ल्याएको बजेटमा सत्तापक्षले बचाउ गर्ने र प्रतिपक्षले विरोध गर्ने अभ्यास देखिँदै आएकामा यस पटक सत्तापक्षकै सांसदले चर्को विरोध गरिरहेका छन् । बजेटमा भइरहेको हरेक दिनको छलफलमा सत्तापक्षका कोही न कोही सांसदले आलोचना गरिरहेकै छन् ।

कांग्रेस महामन्त्रीसमेत रहेका सांसद गगन थापाले बजेट छलफलमा करका दर हेरफेर गर्न पाइने भए पनि तिनको औचित्य पुष्टि हुनुपर्ने भन्दै सरकारमाथि प्रश्न उठाएका छन् ।

माओवादीका सांसद महेन्द्रबहादुर शाहीले संघीयताको मूल मर्ममा केन्द्रित भएर बजेट नल्याएको टिप्पणी गरे ।

सत्ता साझेदार जसपाका अध्यक्ष एवं सांसद उपेन्द्र यादवले मानव विकासको सूचकांकमा पछि परेका मधेश प्रदेश र तराईका जिल्लालाई सबैभन्दा कम बजेट विनियोजन गरिएको बताए ।

सत्तारूढ एकीकृत समाजवादीका सांसद राजेन्द्र पाण्डेले बजेटमार्फत विद्युतीय सवारीमा बढाइएको करको विरोध गरे ।