सौर्य ऊर्जाले झिलीमिली सोरुकोट

हुम्ला, असार १४ गते । सोरु गाउँपालिकाको सोरुकोट सौर्य ऊर्जाको बत्तीले झिलीमिली देखिएको छ । वैकल्पिक ऊर्जा र गाउँपालिकाको आर्थिक सहयोगमा एक सय ३६ सोलार पाता र ९६ ब्याट्री जडान गरेर ६० वाटको विद्युत् उत्पादन गरी दुई सय परिवारको घरमा विद्युत् पु¥याइएको छ ।
दियालोको भरमा रात कटाउँदै आएका सोरुकोट, रोकायाबाडा, बन्जाहलगायत गाउँका बासिन्दा सौर्य ऊर्जाबाट घरमा बिजुली बाल्न पाएपछि खुसी भएका छन् । सौर्य ऊर्जाको बत्ती बाल्न पाउँदा खुसी लागेको सोरुकोट गाउँका उनबहादुर शाहीले बताउनुभयो । गाउँपालिका, प्रहरी चौकी, वन डिपो, खाद्य डिपो, इलाका प्रशासन कार्यालय रहेको सोरुकोटमा सौर्य ऊर्जाको बत्तीले कर्मचारीलाई कामकाज गर्न पनि सहज भएको बताइएको छ ।
यस्तै, सौर्य ऊर्जाको बत्तीले पालिकाको प्रशासनिक कामकाज गर्न सहज भएको पालिका अध्यक्ष धर्मबहादुर शाहीले बताउनुभयो । पानीको स्रोत नभएको सोरुकोटमा वैकल्पिक ऊर्जा र पालिकाको आर्थिक सहयोगमा सौर्य ऊर्जा प्रविधिबाट विद्युत् उत्पादन गरिएको हो । सोरुकोटका बासिन्दालाई रातमा उज्यालोदेखि मोबाइललगायतका विद्युतीय उपकरण चार्ज गर्न तथा साना उद्योग सञ्चालन गर्न सुविधा भएको छ ।
सौर्य ऊर्जाबाट उत्पादन गरिएको बत्तीले सोरुकोट झिलीमिली भएको पालिका उपाध्यक्ष केशरबहादुर शाहीले बताउनुभयो । उक्त विद्युत्लाई सोरुकोटभन्दा केही टाढाका बस्तीमा पु¥याउने लक्ष्य राखिएको उहाँको भनाइ छ ।