सभामुख घिमिरे र शीर्ष नेताबीच छलफल सुरु

काठमाडौं, असार १९ गते । सभामुख देवराज घिमिरे र प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्ष नेताबीचको छलफल सुरु भएको छ ।

सभामुख घिमिरेले आज बिहान ११ बजे सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख विपक्षी दलका नेता एवं नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गर्नुभएको हो ।

संसदीय समितिका सभापति चयन र संसद्लाई अझ प्रभावकारी बनाउने विषयमा सभामुखले शीर्ष नेतासँग छलफल गर्न लाग्नुभएको हो । बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ पनि सहभागी हुनुभएको छ ।

गत वैशाख १५ गते प्रतिनिधिसभाका १० विषयगत समिति गठन भएको थियो । समिति गठन भएको दुई सातापछि गत जेठ २ गते एकसाथ ती समितिको बैठक सुरु भएको थियो । तर सभापति चयन हुन नसक्दा समितिले विधेयकमाथि छलफल गर्न सकेका छैनन् ।

प्रमुख दलका प्रमुख सचेतक, कार्यव्यवस्था परामर्श समितिको बैठक तथा अनौपचारिक छलफलमा पटक–पटक सभापति चयन गर्न समयसीमा नै तोक्दा पनि दलले प्रयत्न नगरेपछि सभामुख घिमिरेले शीर्षनेतासँग परामर्श गर्नुभएको हो ।