हिक्मत कार्कीले कोशी प्रदेशको कामचलाउ सरकरको नेतृत्व सम्हाल्दै

विराटनगर, साउन १२ गते । सर्वोच्च अदालतले उद्धव थापाको मुख्यमन्त्री नियुक्तिलाई बदर गरेसँगै पुनर्वहाली भएका हिक्मत कार्कीले कामचलाउ मुख्यमन्त्रीको रूपमा पुनः कार्यभार सम्हाल्दै हुनुहुन्छ

सभामुख बाबुराम गौतमसहितको हस्ताक्षरलाई गणना गरेर प्रदेश प्रमुख परशुराम खापुङ्गले नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई कोशी प्रदेशको मुख्यमन्त्री नियुक्ति गरेपछि कार्की निवर्तमान हुनुभएको थियो ।

तर, सर्वोच्च अदालतको बिहीबारको फैसलाले थापाको नियुक्ति असंवैधानिक भन्दै नियुत्ति बदर गरेपछि अर्को सरकार गठन नभएसम्मका लागि कार्की काम चलाउ सरकारको मुख्यमन्त्रीका रूपमा पुनर्वहाली हुनुभयो उहाँले ११ बजे मन्त्रालय जाने बताउनुभयो ।

‘कुरा स्पष्ट छ, अदालतले उद्धव थापाको नियुक्ति बदर गरेपछि सरकार शून्यताको अवस्था हुन नदिन मेरै नेतृत्वको सरकारको निरन्तरता हो । संविधानले सरकार शून्यताको परिकल्पना गरेको छैन । अर्को सरकार गठन नभएसम्मका लागि मुख्यमन्त्रीको रूपमा कार्यभार सम्हाल्ने छु’, कार्कीले बताउनुभयो ।

कोशी प्रदेशसभामा ९३ जना सांसद छन् । सरकार गठनको दाबी पेश गर्न ४७ सीटको आवश्यकता पर्छ । थापाले सभामुखको समर्थनसहित ४७ सीट पु¥याएर मुख्यमन्त्रीमा दाबी गनुभएको हो । थापाले कांग्रेसको २९, नेकपा माओवादीको १२, नेकपा एकीकृत समाजवादीको ४ र जनता समाजवादी पार्टीको १ सांसद तथा सभामुखको छुट्टै १ गरी बहुमत पु¥याउनु भएको थियो ,।

सरकार गठन प्रक्रिया असंवैधानिध भएको दाबी लिएर बदरको माग गर्दै एमाले संसदीय दलका नेतासमेत रहनुभएका कार्कीले असार २२ गते रिट निवेदन दिनुभएको थियो ।

अदालतले सभामुखलाई सरकार गठनमा भूमिका खेल्न नपाउने फैसला सुनाएको छ । यसले गर्दा आगामी दिनमा पनि सत्ता गठबन्धनले सभामुखलाई गर्न सक्ने प्रयोगलाई पनि अदालतले बर्जित गरिदिएको छ ।