नौ वर्षमा निर्माण सम्पन्न हुँदै ठिमुरा–देवघाट पुल

चितवन, साउन १७ गते । भरतपुर महानगरपालिका–१ ठिमुराबाट तनहुँको देवघाट गाउँपालिका–५ को घिनटार जोड्ने त्रिशूली नदीमाथि बन्दै गरेको मोटरेबल पुल निर्माणकार्य नौ वर्षमा पूरा हुने भएको छ । पुल निर्माण सुरु गरेको एक दशक हुनैलाग्दा पुलको निर्माण सम्पन्न हुन लागेको हो ।

विसं २०७१ कात्तिक २० गते ठेक्का सम्झौता भई निर्माण सुरु गरिएको पुल निर्माणका क्रममा पटक–पटक प्राविधिक समस्या आउँदा निर्माणकार्य ढिला हुनपुगेको सडक डिभिजन कार्यालय भरतपुरका प्रमुख रमेशप्रसाद पौडेलले जानकारी दिनुुभयो । अहिले निर्माणको काम ९० प्रतिशत सम्पन्न भइसकेको भए पनि अझै रेलिङ हाल्ने, पुलसम्म पुग्ने सडक निर्माण गर्नेजस्ता काम बाँकी रहेको उहाँले बताउनुभयो ।

निर्माण सुरु हुनुअघि बनाइएको नक्साङ्कन बीचमा संशोधन गर्नुपर्दा समय लागेको भए पनि आगामी कात्तिकसम्ममा निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको पौडेलको भनाइ छ । निर्माण सुरु गरी नक्सा परिवर्तन गराई अनुमति लिनका लागि मात्रै ३० महिना लागेको जनाउँदै उहाँले अब छिट्टै पुल सञ्चालनमा ल्याउने तयारी भइरहेको बताउनुभयो ।

पुल निर्माण भएको स्थानमा नदी निकै गहिरो भएको र पानी कटाउन नसक्दा नदीको मुख्य गहिराइमाथि नक्सा परिवर्तनपछि ८० मिटरसम्म स्टिल स्पान राखेर पुल निर्माण गरिएको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “एक सय २० मिटर ढलान गरिएको छ, अन्य स्थानमा स्टिलको स्पान बनाइएको छ ।”

ठेक्का सम्झौता भएको मितिले तीन वर्षमा सम्पन्न गर्ने गरी इलाइट, एड्भेन्जर र इन्द्रेणी जेभी भरतपुरले काम गरेको भए पनि वर्षमा पाँच महिनामात्रै काम गर्न पाउने हुँदा निर्माणकार्य ढिला भएको निर्माण कम्पनीका प्रमुख योगेन्द्र कँडेले बताउनुभयो । उहाँले भन्नुभयो, “वर्षात्को समयमा पानीको बहाव बढ्ने हुँदा काम गर्न सकिएन ।”

निर्माण भइरहेको समयमा विसं २०७७ चैत २४ गते पहिलोपटक निर्माणाधीन पुल भत्किएको थियो । दोस्रोपटक २०७९ वैशाखमा भत्किएको थियो । पुल निर्माणका लागि सुुरुमा रु १९ करोड १० लाख ६६ हजारमा ठेक्का सम्झौता भएको भए पनि संशोधित लागत रु २१ करोड ६८ लाख ४८ हजार रहेको छ ।