मध्यपुरथिमिको सडक अपाङ्ग मैत्री बनाइँदै

भक्तपुर, साउन १९ गते । मध्यपुरथिमि नगरपालिकाका सडक अपाङ्ग मैत्री बनाउन थालिएको छ । नगरपालिकाको पहलमा अरनिको राजमार्ग जोड्ने सहायक सडक धमाधम अपाङ्गमैत्री बनाउन थालिएको हो ।
सडकको दुवैतर्फ पैदलमार्ग निर्माण गर्ने र सो पैदलमार्गको बीच भागमा पहेँलो रेखाङ्कन गरिएको छुट्टै लाइन ट्याकटायल निर्माण गरी दृष्टिविहीनलाई पनि पैदल हिँड्न सहज हुनेगरी सडकलाई अपाङ्गता मैत्री बनाउन थालिएको नगरपालिकाका प्रवक्ता एवं वडा नं ३ का वडाध्यक्ष कृष्णहरि आचार्यले बताउनुभयो ।
उहाँका अनुसार वडा नं ३ को गट्ठाघरचोकदेखि वडा नं २ को सानोथिमि चोकसम्मको सडक अपाङ्गमैत्री भएको छ । थिमिस्थित मध्यपुर अस्पताल हुँदै सूर्यविनायक नगरपालिकाको गाम्चा जाने सडकको फुटपाथ निर्माणसँगै अपाङ्ग मैत्री बनाउने कार्य भइरहेको छ ।
यसैगरी छिट्टै अरनिको राजमार्गको चारदोबाटो चोकबाट बालकोट जाने सडकको हनुमन्ते पुलसम्मको सडकलाई पनि अपाङ्गमैत्री बनाइने र थिमि चारदोबाटोदेखि नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल हुँदै सिद्धिकाली चोकसम्मको सडकलाई पनि अपाङ्गमैत्री बनाउने पहल भइरहेको प्रवक्ता आचार्यले जानकारी दिनुभयो ।
नगरपालिकाले सडकको मापदण्डअनुसार सिमाङ्कन गर्ने र सडक विभागले फुटपाथ निर्माण गरी सडकलाई अपाङ्गमैत्री बनाउने कार्य भइरहेको नगरप्रमुख श्रेष्ठले बताउनुभयो । “हाललाई स्थायी संरचना नछुने अस्थायी संरचनालाई नछाड्ने नीतिअनुरुप सडकको मापदण्डबमोजिम सिमाङ्कन नगरपालिकाले गर्ने र ती सडकमा फुटपाथ निर्माण गरी पैदलयात्रीलाई मात्र होइन अपाङ्गता भएकालाई समेत आवतजावत गर्न सहज हुनेगरी सडक निर्माण भइरहेको छ”, उहाँले भन्नुभयो ।
सडकमा अपाङ्गमैत्री पैदलमार्ग निर्माणसँगै सडकको सौन्दर्यसमेत वृद्धि भएको स्थानीयवासीको भनाइ थियो । यसबाट दुर्घटनामा समेत कमी आउने अपेक्षा गरिएको छ । सानोथिमिबाट गठ्ठाघरतर्फ आउँदै गर्नुभएकी रिता श्रेष्ठले पैदलमार्गको निर्माणले निर्धक्कसँग हिँड्न पाइएको बताउनुभयो । “बालबालिकालाई विद्यालय पु¥याउन र विद्यालयबाट फर्किंदा सधैँ यही बाटोबाट पैदल हिँड्नुपर्छ । पैदलमार्ग नहुँदा सडकबाट हिँड्नु पर्दथ्यो । अब सजिलो भएको छ”, उहाँले भन्नुभयो ।