एमालेको नाराबाजीपछि प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं, साउन २९ गते । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको नाराबाजीपछि प्रतिनिधिसभाको बैठक एक हप्ताकालागि स्थगित भएको । बैठक भदौ ३ गते आईतबारसम्मका लागि स्थगित भएको हो ।

सुन तस्करीका बारेमा छानबिन गर्न उच्च स्तरीय समिति गठनको माग गर्दै एमालेका सांसदहरुले उठेर नाराबाजी गरेपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित गर्नुभएकोहो ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट बाहिरिएको सुन राजस्व अनुसन्धान विभागले २ साउनमा सिनामंगल क्षेत्रबाट बरामद गरेको थियो । सो प्रकरणमा प्रधानमन्त्री कार्यालय मातहतको राजस्व अनुसन्धान विभागले राजस्व चुहावटसम्बन्धी मुद्दामा अनुसन्धान गरिरहेको थियो ।

तर नेकपा एमालेले सरकारी अनुसन्धानमा आफूहरुलाई विश्वास नभएको भन्दै सुन तस्करी छानबिनमा उच्चस्तरीय समिति गठन गर्नुपर्ने माग राखेर १० साउनदेखि लगातार संसद अवरोध गर्दै आएको छ ।

संसद अवरोध खोल्ने विषयमा सभामुख देवराज घिमिरेले यसअघि पटक पटक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीसहितको बैठक राख्नुभएको थियो । तर पनि सहमति हुन सकेको छैन ।