दुई पालिकामा बीमा सम्बन्धी अन्तरक्रिया

काठमाडौँ, माघ १९ गते । नेपाल बीमा प्राधिकरणले बीमा कार्यक्रम प्रभावकारी बनाउन प्रदेश र विभिन्न स्थानीय तहहरुमा अन्तरक्रिया गर्दै आएको छ । पछिल्ला समयमा बीमा गर्नेहरुबाट गुनासो आउने गरेकोले त्यसको जनाचेतनाका लागि प्राधिकरणले सो कार्यक्रम गरेको हो ।

आज मात्र बागमती प्रदेशका दुई वटा स्थानीय तहमा सो कार्यक्रम गरेको छ । धादिङको गजुरा गाउँपालिका र चितवनको इच्छाकामना गाउँपालिकामा बीमा सम्बन्धी जानकारीमूलक अन्तरक्रिया कार्यक्रम सम्पन भएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले न्यून आय भएकालाई नमूनाका रूपमा बीमा गरिदिने व्यवस्था गर्न पालिकालाई आग्रह गर्नुभयो । गजुरी गाउँपालिकामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले आर्थिकरूपले सक्षम व्यक्तिलाई बीमा गर्न प्रोत्साहन गर्ने वातावरण बनाउन र घर बीमालाई अनिवार्य गर्नुपर्ने बताउनुभयो । कार्यकारी निर्देशक पौडेलले कृषि तथा पशु प्राविधिकहरूलाई बीमा सम्बन्धी तालिम दिन सहजीकरण गर्न प्राधिकरण तयार रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, स्थानीय वासिन्दाको आग्रह अनुसार गाउँपालिकामा नै बीमा कम्पनीका शाखा कार्यालय खोल्न प्राधिकरणले पहल गर्छ, । घर र कृषि तथा पशुपन्छी बीमामा जोड दिन आग्रह गर्दै उहाँले भन्नुभयो, बीमा दाबी भुक्तानी दिने व्यवस्था सहज बनाउन कम्पनीहरूलाई निर्देशन दिनुभयो ।

कार्यक्रममा गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठले बीमाप्रतिको जनविश्वास बढाउन बीमा कम्पनीहरूले दाबी भुक्तानी समयमै गर्नुपर्ने बताउनुभयो ।

त्यस्तै इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरूङले गाउँपालिकाको भौगोलिक कठिनताका कारण बीमा गर्न धेरै टाढा जानुपर्ने बाध्यता रहेकाले गाउँपालिकामै बीमा कम्पनीका शाखा कार्यालय खोल्नपर्ने व्यवस्था गर्न आग्रह गर्नुभयो ।

कार्यक्रमहरूमा गाउँपालिकाका वडा अध्यक्ष, कार्यपालिका सदस्य र कर्मचारीहरू, नेपाल बीमा प्राधिकरणका उपनिर्देशक निर्मल अधिकारी तथा सहायक निर्देशक केदारनाथ भट्ट, बीमा कम्पनीका प्रतिनिधि, अगुवा कृषक, कृषि तथा पशु प्राविधिक, बीमा अभिकर्ता, संचारकर्मीहरू लगायतको सहभागिता रहेको थियो ।

बीमा सम्बन्धी सम्झौता

भीमसेनथापा गाउँपालिका र राष्ट्रिय बीमा कम्पनी लिमिटेडबीच बीमा सम्बन्धी सम्झौता गरिएको छ । नेपाल बीमा प्राधिकरणका उपनिर्देशक निर्मल अधिकारीको उपस्थितिमा बुधबार सो बीच बीमा सम्बन्धी सम्झौता भएको हो ।

सम्झौतापत्रमा भीमसेनथापा गाउँपालिकाका अध्यक्ष लोक प्रसाद बंजरा र राष्ट्रिय बीमा कम्पनी लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत सुवास कोइरालाले हस्ताक्षर गर्नुभएको थियो ।

सम्झौतामा गाउँपालिकाभित्रका सबै नागरिकको दुर्घटना बीमा र घरहरूको सम्पत्ति बीमा गर्ने, सरकारी सम्पत्तिहरूको बीमा गर्नका लागि आवश्यक कार्य अगाडि बढाउने, कृषि तथा पशुपन्छी बीमा र कृषि औजारहरूको बीमा क्रमिक रूपमा गर्दै जाने लगायतका विषयहरू उल्लेख गरिएका छन् ।