प्रचण्डको आह्वान : परिवर्तन पक्षधर शक्तिहरू मिलेर समाजवादी नेपालको निर्माण गरौं

काठमाडाैं —नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादी नेपालको निर्माणतर्फ अघि बढ्न अपिल गरेका छन्।

आज छठ पर्वको शुभकामना दिँदै उनले परिवर्तन पक्षधर शक्तिहरूबीच आपसी सम्मान, सामाजिक सद्भाव र सहकार्यको भावना सुदृढ गर्दै अघि बढ्नुपर्ने बताएका हुन्।

‘आजको चुनौतीपूर्ण राजनीतिक, आर्थिक र सामाजिक परिस्थितिमा छठले दिने आत्मबल, धैर्य र आशावादको सन्देश झन् महत्वपूर्ण बनेको छ।’, प्रचण्डले भने,‘परिवर्तन पक्षधर शक्तिहरूबीच आपसी सम्मान, सामाजिक सद्भाव र सहकार्यको भावना सुदृढ गर्दै हामी सबै मिलेर समृद्ध, न्यायपूर्ण र समाजवादी नेपालको निर्माणतर्फ अघि बढ्न सकौँ भन्ने विश्वास व्यक्त गर्दछु।’

Shivam Cement

प्रचण्डले मधेस-तराईको मुख्य चाडका रूपमा मनाइने छठ  संस्कृति, परम्परा, श्रम, सम्बन्ध र जनजीवनसँग गहिरो रूपमा जोडिएको पर्व भएको बताएका छन्। उनले पर्वले मानव र प्रकृतिबीचको सम्बन्धलाई अझ सशक्त बनाउँदै सहअस्तित्व, सन्तुलन र आत्मशुद्धिको चेतना जगाउने उल्लेख गरे।

छठ पर्वले प्रकृति र मानवभित्र विद्यमान अँध्यारोलाई चिर्दै सबैमा मनको उज्यालो, पवित्रता र सकारात्मक ऊर्जा जगाओस् भन्ने उनले कामना गरे। देशमा शान्ति, समृद्धि र स्थायित्वको नयाँ प्रभात उदाओस् भन्ने कामना गरेका छन्।