उपत्यकामा मात्र सात सय ८१ सुकुमवासीका घर भत्काइयो

काठमाडौं – काठमाडौँ महानगरपालिका अन्तर्गत अतिक्रमित बस्ती हटाउने अभियान जारी रहँदा हालसम्म ७ सय ८१ घर भत्काइएको छ ।

महानगर प्रहरी बलका प्रमुख विष्णुप्रसाद जोशी का अनुसार थापाथली स्थित बागमती नदी किनारमा १ सय ४३, वडा नं ९ को गैरीगाउँ–सिनामङ्गल क्षेत्रमा १ सय ६२ र वडा नं ३१ को शान्तिनगरमा ४ सय ७६ घर भत्काइएको हो ।

सरकारको निर्देशनअनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा महानगर प्रहरीको संयुक्त टोलीले शनिबार प्रभावित बासिन्दा र उनीहरूको सरसामान सुरक्षित स्थानमा सार्न सहयोग गरेपछि मात्रै डोजर प्रयोग गरी संरचना हटाइएको थियो ।

काठमाडौँ उपत्यका विकास प्राधिकरण का अनुसार अझै ९० वटा घर भत्काउन बाँकी रहेका छन् । तीमध्ये गोठाटारमा ७७ र मनोहरा टोलमा १३ घर रहेका छन् ।

सरकारले सार्वजनिक जग्गा संरक्षण, नदी किनार क्षेत्र व्यवस्थापन, सहरी सौन्दर्यीकरण तथा वातावरण संरक्षणलाई प्राथमिकतामा राख्दै अभियान अघि बढाएको जनाएको छ ।

यद्यपि, बस्ती हटाउने कार्यसँगै प्रभावित परिवारको पुनःस्थापना र दीर्घकालीन व्यवस्थापनको विषयमा चासो बढ्दै गएको छ । सरोकारवालाले वैकल्पिक बसोबासको सुनिश्चितता गर्दै दीर्घकालीन समाधान आवश्यक रहेको बताएका छन् ।