काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचनअघि सार्वजनिक गरेको वाचापत्रअनुसार नै सरकारको नीति तथा कार्यक्रम संसद्मा प्रस्तुत गरिएको बताएका छन् ।
कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको ‘कान्तिपुर इकोनमिक समिट’लाई श्रव्यदृश्य माध्यमबाट सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले सोही आधारमा आगामी आर्थिक वर्षको बजेट पनि ल्याइने जानकारी दिए ।
उनले सरकारले सुशासनलाई पहिलो प्राथमिकतामा राखेको तथा आर्थिक उन्नयनलाई पनि उत्तिकै महत्वका साथ नीति तथा कार्यक्रममा समेटिएको बताए । “जनतालाई सुशासनको लाभांश दिने प्रयासमा सरकार केन्द्रित छ,” उनले भने, ।
अर्थमन्त्री वाग्लेले आगामी बजेट ‘इ–गभर्नेन्स’, डिजिटल सेवा प्रवाह र डिजिटल अर्थतन्त्रमा केन्द्रित हुने उल्लेख गर्दै डिजिटल माध्यमबाट सार्वजनिक सेवा थप प्रभावकारी बनाइने जानकारी दिए ।
सूचना प्रविधिसम्बन्धी काम प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत सञ्चालन गरिने बताउँदै उहाँले आयातमा आधारित अर्थतन्त्रको पुनर्संरचना गर्ने सरकारको योजना रहेको बताए ।
उनले मितव्ययितालाई पनि सरकारले प्राथमिकतामा राखेको र आवश्यकताका आधारमा मात्रै विदेशस्थित नेपाली नियोग सञ्चालन गरिने उल्लेख गरे ।
कार्यक्रममा घनश्याम उपाध्याय ले सरकारको पहिलो प्राथमिकता सुशासन भएको बताउँदै निजी क्षेत्रको आत्मविश्वास बढाउन नीतिगत सुधार आवश्यक रहेको धारणा राखे ।
त्यसैगरी नेपाल उद्योग वाणिज्य महासङ्घ का अध्यक्ष अञ्जन श्रेष्ठ ले निजी क्षेत्रलाई सुरक्षाको प्रत्याभूति दिलाउनेतर्फ सरकार गम्भीर हुनुपर्नेमा जोड दिए ।



