नेपालगञ्ज – नेपालगञ्ज–गुलरिया सडकखण्डअन्तर्गत बाँकेको खजुरा गाउँपालिका–३ पेडारी नालामा चार लेनको पक्की पुल निर्माण सुरु गरिएको छ । करिब छ दशकअघि बनेको पुरानो पुल साँघुरो र जीर्ण भएकाले नयाँ पुल निर्माण थालिएको हो ।
नेपालगञ्जस्थित हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालयका सूचना अधिकारी कृष्ण पाण्डेका अनुसार रु आठ करोड ९६ लाख तीन हजार ४६८ लागतमा चार लेनको पक्की पुल निर्माणका लागि निर्माण कम्पनीसँग सम्झौता गरिएको छ । सम्झौता अनुसार आगामी वैशाखभित्र निर्माण कार्य पूरा हुने लक्ष्य राखिएको छ ।
पुल निर्माणका क्रममा सवारी आवागमन सहज रहोस् भन्ने उद्देश्यले हालको पुरानो पुल एकतर्फी रूपमा प्रयोग गरिनेछ। नयाँ पुलको एक भाग तयार नहुँदासम्म पुरानो पुल भत्काइने छैन ।
हुलाकी राजमार्ग र खजुरा बजार सडक विस्तारका क्रममा लामो समयदेखि स्थगित रहेको पेडारी नालाको पुल निर्माण सम्पन्न भएपछि बर्खायाममा बाँके र बर्दियाका सर्वसाधारणलाई आवागमनमा सहजता हुने अपेक्षा गरिएको छ ।



