ललितपुर महानगरले सञ्चालनमा ल्यायो आगलागी आपत्कालीन सूचना प्रणाली

ललितपुर – ललितपुर महानगरपालिकाले आगलागीका घटनामा तत्काल सूचना प्रवाह र उद्धार कार्यलाई प्रभावकारी बनाउन ‘आगलागी आपत्कालीन सूचना प्रणाली’ सञ्चालनमा ल्याएको छ ।

महानगर प्रमुख चिरीबाबु महर्जनले आज पाटन दरबार क्षेत्रमा स्वीच जडान गर्दै उक्त प्रणालीको औपचारिक सुरुआत गरे । उद्घाटन कार्यक्रममा बोल्दै उनले आगलागी वा अन्य विपद्को समयमा तुरुन्त सूचना प्रदान गरी क्षति नियन्त्रणमा मद्दत पु–याउने उद्देश्यले यो प्रणाली जडान गरिएको बताए ।

“हामीले अहिले यो प्रणालीलाई परीक्षणका रूपमा सञ्चालनमा ल्याएका छौँ । यसको कार्यक्षमता प्रभावकारी देखिए महानगरका सबै चोकमा विस्तार गर्ने योजना छ,” प्रमुख महर्जनले भने,। उनका अनुसार ललितपुर महानगरपालिका विपद् व्यवस्थापनका क्षेत्रमा अन्य स्थानीय तहहरूभन्दा अघि बढेको छ र आगलागी नियन्त्रणका लागि दुईवटा नयाँ दमकल किन्ने निर्णय पनि गरिएको छ ।

यसअघि महानगरले आकस्मिक घटना वा गुनासोका लागि ११३१ नम्बरको टोल–फ्रि सेवा सञ्चालनमा ल्याइसकेको छ ।

अग्निनियन्त्रक राजकुमार ठकुरीका अनुसार ‘एलएमसी एप’ मार्फत स्वीच थिचेको सात सेकेन्डभित्र महानगरको प्रहरी कन्ट्रोलमा साइरन बज्ने प्रणाली जडान गरिएको छ । विद्युत् आपूर्ति बन्द भए पनि ४८ घण्टासम्म ब्याट्री ब्याकअप उपलब्ध हुनेछ । अहिले मङ्गलबजार क्षेत्रमा जडान गरिएको यो प्रणाली विस्तारै टोलटोल, उद्योग र कलकारखानामा स्थापना गर्ने तयारी भइरहेको बताइएको छ ।