छिम्केश्वरीको उद्यान आन्तरिक पर्यटकको आकर्षणको केन्द्र

दमौली – जिल्लाको सबैभन्दा अग्लो स्थान, आँबुखैरेनी गाउँपालिका–५ स्थित छिम्केश्वरीमा निर्माण गरिएको उद्यान (पार्क) हाल आन्तरिक पर्यटकहरूको पहिलो रोजाइ बनेको छ । समुद्र सतहबाट २,१३४ मिटर उचाइमा अवस्थित यो उद्यानले सुन्दर प्राकृतिक दृश्य, मनोरम मौसम र धार्मिक महत्त्वका कारण पर्यटकलाई आकर्षित गरेको छ ।

प्रसिद्ध छिम्केश्वरी मन्दिर नजिकै रहेको यो उद्यानमा बिदा तथा शनिबार आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको वडाध्यक्ष सन्तोष गुरुङले जानकारी दिए । उनका अनुसार मन्दिरमा पूजा–आजा गर्न आउने भक्तजन उद्यान अवलोकन गर्न नछुटाउने गर्छन् ।

गण्डकी प्रदेश सरकारको रु २० लाख र स्थानीय जनसहभागिता रु २ लाखसहित कुल रु २२ लाखको लागतमा निर्माण गरिएको यस पार्कमा २० फिट अग्लो नेपालको झण्डा पनि स्थापना गरिएको छ । यहाँको शीतल मौसम, छिनछिनमा बदलिने घाम र हुस्सुले पर्यटकलाई मोहित बनाउने गरेको गुरुङले बताए ।

उद्यानमा आएका पर्यटक रमाइलो गर्दै तस्बिर खिच्न, भिडियो तथा टिकटक बनाउन व्यस्त देखिन्छन् । यहाँबाट धवलागिरि, अन्नपूर्ण, लमजुङ, मनास्लु, माछापुच्छ«ेलगायतका हिमशृङ्खला नजिकैबाट अवलोकन गर्न सकिन्छ, जसले पर्यटक आकर्षणमा थप वृद्धि गरेको वडाध्यक्ष गुरुङको भनाइ छ ।

छिम्केश्वरी मन्दिरको अवस्थामा सुधार ल्याउन गाउँपालिकाले जीर्णोद्धार सम्पन्न गरिसकेको छ । पहिलाको पुरानो मन्दिरलाई आकर्षक संरचनामा पुनर्निर्माण गरिएको छ र मन्दिरमा पित्तलको छाना जडान गरिएको हो ।

धार्मिक मान्यताअनुसार गोरखा मनकामनाकी दिदीका रूपमा पुजिँदै आएकी छिम्केश्वरीमाईमा पूजा–आजा गरेपछि मनोकामना पूरा हुने विश्वास छ । सात देवीमध्ये जेठी बूढीदेवीमाई र माइली छिम्केश्वरीमाई यहीं अवस्थित छन् भने साइली गोरखकालीमाई, काइली मनकामनामाई, अन्तरी इच्छाकामनामाई, जन्तरी अन्नपूर्णामाई र कान्छी अकलामाईलाई सोही स्थानबाट दर्शन गर्न सकिन्छ ।