सामुदायिक विद्यालयमा ईन्टरनेट सेवा जडान गर्दै मंगलसेन

  • टेकराज भण्डारी

अछाम, फागुन ८ गते । अछामको मंगलसेन नगरपालिकाले सबै सामुदायिक विद्यालयमा ईन्टरनेट सेवा सञ्चालन गर्ने भएको छ । सोमबार एक कार्यक्रमकाबीच ब्रोडब्याण्ड ईन्टरनेट जडानबारे अभिमूखिकरण सहित उपकरण प्रदान गरिएको छ । नगरपालिकामा क्षेत्रभित्र रहेबा ४९ वटै सामुदायिक विद्यालयमा ईन्टरनेट सेवा जडान गर्ने आवश्यक उपकरण प्रदान गरेको हो ।

नगरभित्रका ११ वटा माध्यामिक विद्यालयमा ईन्टरनेट सेवा जडान गरिसकेको यहाँका ३८ वटा आधारभूत विद्यालयमा अब ईन्टरनेट सेवा जडान हुने मंगलसेन नगरपालिकाका शिक्षा युवा तथा खेलकुद शाखाका प्राविधिक सहायक दिपक बहादुर भण्डारीले जानकारी दिनुभयो ।

नगपालिकाका निमित्त प्रमुख प्रशाशकीय अधिकृत खकेन्द्र बहादुर सोडारीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि संगीता रावल सोडारीले ईन्टरनेट उपकरण हस्तान्तरण गर्नुभयो ।

नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रीय सदस्य तथा शिवनिवास आधारभूत विद्यालयका शिक्षक नर बहादुर रावललाई उपकरण हस्तान्तरण गर्दै नगर उपप्रमुख सोडारीले सामग्रीको उचित र प्रभावकारी उपयोग गरी फाईदा लिन आग्रह गर्नुभयो ।

नेपाल सरकार, टेलिकम र मंगलसेन नगरपालिकाको सहयोगमा सांग्रीला ईन्फरमेटिभ्स मार्फत उपकरण प्रदान गरिएको थियो ।

नेपाल टेलिकमको फोरजी सेवा सेवा ईन्टरनेट मार्फत पाईने बताईएको छ । विद्युत पहुच नभएको विद्यालयमा नगरपालिकाले तत्काल सोलार जडान गरिदिने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सोडारीले बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत सोडारीले शिक्षण सिकाई क्रियाकलापहरुलाई प्रविधि संग जोडेर सिकाई उपलब्धि बढाउन आग्रह गर्नुभयो ।

विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधिहरुलाई ईन्टरनेट डिभाईस हस्तान्तरण संगै विद्यालयमा संचालन र जडान गर्ने विधिबारे नगरपालिकाका सूचना प्रविधि अधिकृत पौरख कुमार बोगटी र सेवाप्रदायक कम्पनी साङ्ग्रिला ईन्फरमेटिभका प्राविधिक जगत विसीले जानकारी गराउनुभएको थियो । ईन्टरनेट सेवा २ वर्षसम्म निःशुल्क प्रयोग गर्न सकिने र त्यसपछि रिचार्ज गर्नुपर्ने जनाईएको छ । २ वर्षसम्म सेवाप्रदायक कम्पनीले नै सेवा शुल्कको जिम्मेवारी लिने सम्झौता गरिएको छ ।

३८ वटै आधारभूत विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधिको सहभागीता रहेको हस्तान्तरण कार्यक्रमको सञ्चालन शिक्षा शाखाका प्राविधिक सहायक दिपक बहादुर भण्डारीले गर्नुभएको थियो ।

ईन्टरनेटको माध्यमबाट विद्यालयका प्रशाशनिक, सूचना तथा शिक्षण सिकाई क्रियाकलाप व्यवस्थित हुने प्रधानाध्यापकहरुले बताएका छन् ।