औरही – मधेस प्रदेशको औरही गाउँपालिकाले किसानलाई ५० प्रतिशत अनुदानमा उन्नत जातको गहुँको बीउ वितरण गरेको छ । उपयुक्त समयमा भरपर्दो बीउ पाएपछि यहाँका किसान उत्साहित भएका छन् ।
गाउँपालिकाले कृषि शाखामार्फत ‘गौतम’ र ‘विजय’ जातका गहुँको बीउ उपलब्ध गराउँदा किसानले समयमै बाली तयारी गर्न सकेका छन् । मधेस प्रदेशमा सामान्यतया मध्य पुसभित्र गहुँ बाली लगाइसक्नुपर्ने भएकाले बीउ नपाउँदा किसान हरेक वर्ष समस्यामा पर्ने गरेका छन् ।
औरही–१ का जयकिशोर यादवले बीउ पाएपछि खेत जोत्ने र अन्य तयारी गर्न सहज भएको बताए । गाउँपालिकाका अध्यक्ष शिवजी यादवले दुई वर्षदेखि मुख्य बाली लगाउने समयमा किसानलाई बीउ, मल र कृषि उपकरण सहुलियत दरमा उपलब्ध गराउँदै आएको बताए।
“हामीले गहुँमात्र होइन, धान, तरकारी र मकै खेतीका लागि पनि बीउ, मलखाद र कृषि उपकरण सहुलियत दरमा उपलब्ध गराउँदै आएका छौँ । यसले किसानको उत्पादन र आयमा सकारात्मक प्रभाव पारेको छ,” अध्यक्ष यादवले बताए ।
गाउँपालिका कृषि शाखाका अनुसार यस वर्ष कुल १४४४ किसानलाई गहुँको बीउ वितरण गर्ने लक्ष्य राखिएको छ । प्रति किसान २० किलोको दरले वितरण भइरहेको बीउको बजार मूल्य प्रति किलो रु ७४ रहेकोमा ५० प्रतिशत छुटमा उपलब्ध गराइएको छ । हालसम्म करिब १००० किसानले बीउ प्राप्त गरेका छन्। बीउ वितरण पुसको पहिलो साताभरि जारी रहने जनाइएको छ ।



