सहकारीलाई घर–कोठा खाली गर्न महानगरको सूचना, व्यवस्थापन र नियमन कडा हुँदै

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले विभिन्न आठ सहकारी संस्थालाई बहालमा लिएका घर–कोठा खाली गर्न औपचारिक सूचना जारी गरेको छ । महानगरको न्यायिक समितिबाट घर–कोठा खाली गर्ने सम्बन्धमा भएका निर्णय कार्यान्वयन गर्ने क्रममा सहकारी संस्थाहरूलाई सम्पर्कमा आउन निर्देशन दिइएको हो ।

माघ १५ गते बसेको निर्णय कार्यान्वयन समितिको बैठकको निर्णयअनुसार महानगरले सम्बन्धित सहकारीलाई सूचना जारी गरेको जनाएको छ । महानगरका अनुसार न्यायिक समितिको आदेशअनुसार बहालमा लिएका भवन खाली गराउन आवश्यक प्रक्रिया अघि बढाइएको हो ।

महानगरले काठमाडौँ–३१ स्थित आशा बचत तथा ऋण सहकारी, वडा नं. ६ का नब सवल सहकारी र सन्दुल सहकारी, काठमाडौँ–१७ स्थित युनिफाइड सहकारी तथा काठमाडौँ–२२ स्थित महाबौद्ध बचत तथा ऋण सहकारीलाई सम्पर्कमा आउन सूचना दिएको छ ।

त्यसैगरी काठमाडौँ–३२ का ग्रेटर गंगासागर सेभिङ र प्रारम्भिक बचत सहकारी, काठमाडौँ–६ का सुन्ताखाल बचत सहकारी तथा काठमाडौँ–१० का ग्रेटर गंगासागर बचत सहकारीलाई पनि महानगरले सूचना जारी गरेको छ ।

महानगरको सूचनामा सहकारी संस्थाका सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, कर्मचारी तथा सदस्यहरूलाई सूचना प्रकाशित भएको मितिले सात दिनभित्र काठमाडौँ महानगरपालिकाको कानून तथा मानव अधिकार विभागमा सम्पर्क गर्न भनिएको छ ।

तोकिएको समयभित्र सम्पर्कमा नआए न्यायिक समितिको निर्णयअनुसार बहालमा लिएका घर–कोठा खाली गरिने महानगरले स्पष्ट पारेको छ । घर–कोठा खाली गर्दा सहकारीका कार्यालय सामग्री सम्बन्धित घरधनीको जिम्मामा राखिने र पछि सम्पत्ति सम्बन्धमा कुनै दाबी–विरोध नलाग्ने पनि सूचनामा उल्लेख गरिएको छ ।