काठमाडौँ – कालिका नगरपालिका ले आजदेखि आफ्नै नवनिर्मित प्रशासकीय भवनबाट सेवा सुरु गरेको छ ।
नगरपालिकाका प्रमुख विनोद रेग्मी का अनुसार नियमित काम आजदेखि नयाँ भवनबाट सुरु गरिएको छ । निर्माण कार्य छ वर्षको प्रयासपछि पूरा भएको हो। निर्माण कम्पनीले विसं २०७६ फागुन १५ गते दुई वर्षभित्र भवन सम्पन्न गर्नेगरी ठेक्का लिएको भए पनि निर्धारित समयमा काम नसकिएपछि चारपटक म्याद थप गरी अन्तिम म्याद २०८१ कात्तिक ३० गतेसम्म पुर्याइएको थियो ।
नगरपालिकाले म्याद नथप्ने निर्णय गर्दै ठेक्का कम्पनीलाई रु एक करोड १६ लाख जरिवाना लगाएको छ । प्रमुख रेग्मीका अनुसार रु ११ करोड ५६ लाखको लागतमा आधुनिक सुविधासम्पन्न नयाँ भवन निर्माण गरिएको छ ।
विसं २०७२ असोज १ गते स्थापना भएको नगरपालिकाले १० वर्षपछि आफ्नै भवनबाट सेवा सुरु गरेको हो । नयाँ भवनमा सभाहल, नगरप्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतको सचिवालयसहित कार्यकक्ष निर्माण गरिएको छ । साथै आर्थिक, स्वास्थ्य, कृषि तथा पशुसेवा, सामाजिकलगायत सबै शाखाले यही भवनबाट सेवा प्रदान गर्नेछन् ।
साविकको जुटपानी, पदमपुर, शक्तिखोर र सिद्धि गाउँविकास समिति समायोजन गरी बनेको कालिका नगरपालिकामा ५२ हजारभन्दा बढी जनसंख्या बसोबास गर्छ । यहाँ ब्राह्मण, चेपाङ, तामाङ, थारु, क्षेत्री लगायत विभिन्न जातजाति र समुदायको मिश्रित बसोबास रहेको छ ।
नगरपालिकाले आफ्नै प्रशासनिक भवनबाट सेवा सुरु गरेसँगै नगरवासीलाई सेवा लिन र कर्मचारीलाई काम गर्न सहज भएको प्रमुख रेग्मीले जानकारी दिए ।



