काठमाडौं – हुम्ला र मुगु जिल्लाको सिमानामा पर्ने हुम्ला कर्णाली र मुगु कर्णाली नदीको सङ्गमस्थल ‘दोमुख’ पछिल्लो समय पर्यटकीय तथा व्यावसायिक दृष्टिले महत्वपूर्ण केन्द्रका रूपमा परिचित हुँदै गएको छ । कर्णाली करिडोरसँग जोडिएको यो क्षेत्र हुम्लाको अदानचुली गाउँपालिका–१ र मुगुको सोरु गाउँपालिका–३ को सीमामा अवस्थित छ ।
हुम्लातर्फको दोमुख बजार अदानचुली गाउँपालिकाको प्रमुख व्यापारिक केन्द्रमध्ये एक मानिन्छ । कर्णाली करिडोर सञ्चालनमा आएपछि यहाँ व्यापारिक गतिविधि उल्लेखनीय रूपमा बढ्दै गएको दोमुख बजार व्यवस्थापन समितिका अध्यक्ष शेरबहादुर बुढाले बताए । उनका अनुसार हुम्ला र मुगुका स्थानीयबासीका लागि किनमेल तथा आवतजावतको प्रमुख केन्द्रका रूपमा दोमुख स्थापित हुँदै गएको छ ।
नदीहरूको संगमले बनाएको प्राकृतिक सौन्दर्य, वरिपरिका पहाडी दृश्य र शान्त वातावरणका कारण दोमुख आन्तरिक पर्यटनका लागि अत्यन्त सम्भावनायुक्त क्षेत्र मानिन्छ । तर आवश्यक पर्यटकीय पूर्वाधार, व्यवस्थित प्रचारप्रसार र समुचित व्यवस्थापनको अभावले यसको पूर्ण विकास हुन सकेको छैन ।
स्थानीयवासीका अनुसार पर्यटक विश्रामस्थल, दृश्यावलोकन स्थल, खाने–बस्ने सुविधा तथा अन्य पूर्वाधार विकास गर्न सके दोमुखले पर्यटन प्रवद्र्धनसँगै स्थानीय अर्थतन्त्रमा ठूलो योगदान दिन सक्छ । कर्णाली करिडोरले उपलब्ध गराएको सहज पहुँचले यस क्षेत्रको सम्भावनालाई अझ बढाएको छ ।
यस क्षेत्र धार्मिक तथा सांस्कृतिक दृष्टिले पनि महत्वपूर्ण मानिन्छ । स्थानीय समुदायले यहाँ गौजो काट्ने, व्रतबन्ध, काजकिरिया, मृत्यु संस्कार तथा विभिन्न धार्मिक अनुष्ठान गर्ने परम्परा रहेको छ, जसले दोमुखलाई सांस्कृतिक आस्थाको केन्द्रका रूपमा पनि स्थापित गरेको छ ।
त्यस्तै, कर्णाली नदीमा पाइने विभिन्न प्रजातिका माछाका कारण पनि यो क्षेत्र परिचित छ । व्यापार, प्राकृतिक सौन्दर्य, धार्मिक महत्व र जैविक सम्पदाको संयोजन रहेको दोमुख अहिले पनि आवश्यक पूर्वाधार र सरकारी/निजी लगानीको प्रतीक्षामा रहेको स्थानीयवासीले बताएका छन् ।



