कैलाली – कैलालीको चिसापानीदेखि मोहन्याल गाउँपालिकाको राजकाँडासम्म निर्माणाधीन जालपादेवी केबलकार परियोजनाले सुदूरपश्चिमको पर्यटन र आर्थिक विकासमा नयाँ सम्भावना सिर्जना गर्ने अपेक्षा गरिएको छ। करिब रु ६ अर्ब लगानी अनुमान गरिएको यस परियोजना आगामी असोजभित्र सञ्चालनमा ल्याउने लक्ष्यका साथ निर्माण कार्य तीव्र रूपमा अघि बढिरहेको छ।
आइएमई समूहको मुख्य लगानीमा निर्माण भइरहेको परियोजनाअन्तर्गत ३.१ किलोमिटर लामो केबलकारसँगै होटल, रेष्टुरेन्ट, स्काइवाक, पार्क, पदमार्ग तथा अन्य पर्यटकीय पूर्वाधार निर्माण भइरहेका छन्। परियोजनाको शिलान्यास २०८१ पुस १३ गते गरिएको थियो भने निर्माण कार्य गत वर्ष असारदेखि सुरु भएको हो।
परियोजनाका इन्जिनियर विजय पौडेलका अनुसार हाल पोल ठड्याउने, बटम र टप स्टेशन निर्माणलगायतका काम अन्तिम चरणमा पुगेका छन्। त्यसपछि तार तान्ने र गोण्डोला जडान गर्ने प्राविधिक काम सुरु हुनेछ। टप स्टेशनमा होटल, रेष्टुरेन्ट, पार्क, जालपादेवी मन्दिर, स्काइवाक र वाकिङ ट्रेल निर्माण भइरहेका छन् भने बटम स्टेशनमा पाँचतारे होटल, ब्यान्क्वेट हलसहितका संरचना बनाइँदै छन्।
नेपाल उद्योग वाणिज्य महासङ्घ सुदूरपश्चिमका अध्यक्ष पुष्पराज कुवँरले यति ठूलो निजी लगानीको पर्यटन आयोजना प्रदेशका लागि ऐतिहासिक अवसर भएको बताउँदै केबलकार सञ्चालनमा आएपछि होटल, यातायात, कृषि, व्यापार र सेवा क्षेत्रले प्रत्यक्ष लाभ पाउने विश्वास व्यक्त गरे ।
टीकापुर र लम्की उद्योग वाणिज्य सङ्घका अध्यक्षहरू सन्तोष खड्का र पदमराज चौलागाईंले पनि यस परियोजनाले सुदूरपश्चिममा थप निजी लगानी आकर्षित गर्न महत्त्वपूर्ण भूमिका खेल्ने धारणा राखेका छन्।
स्थानीय व्यवसायीहरूका अनुसार हाल चिसापानी क्षेत्रमा दैनिक पाँचदेखि सात सय आन्तरिक पर्यटक पुग्ने गरे पनि पर्याप्त पूर्वाधार नहुँदा उनीहरू लामो समय बस्न सकिरहेका छैनन्। केबलकार सञ्चालनमा आएपछि पर्यटकको बसाइँ लम्बिने, स्थानीय होटल तथा व्यवसायको आम्दानी बढ्ने र नयाँ रोजगारीका अवसर सिर्जना हुने अपेक्षा गरिएको छ।
व्यवसायीहरूले केबलकारसँगै कर्णाली नदीमा जलपर्यटन, बर्दिया राष्ट्रिय निकुञ्जको जङ्गल सफारी तथा धार्मिक पर्यटनलाई एकीकृत प्याकेजका रूपमा विकास गर्न सके सुदूरपश्चिमलाई आकर्षक पर्यटन गन्तव्य बनाउन सकिने बताएका छन्।
होटल व्यवसायी टङ्क पराजुलीले परियोजनाले स्थानीय कृषिउपज, हस्तकला, होटल तथा साना उद्यमलाई बजार उपलब्ध गराउने विश्वास व्यक्त गर्नुभयो। बसेरा थारू होमस्टेका अध्यक्ष किशोर थारूले पनि पर्यटक आगमनसँगै स्थानीय संस्कृति, परम्परा र रैथाने उत्पादनको प्रवर्द्धन हुने अपेक्षा व्यक्त गरे ।
परियोजनाको अर्को महत्त्वपूर्ण पक्ष भारतसँगको सहज पहुँच पनि हो। कञ्चनपुरको गड्डाचौकी, कैलालीको गौरीफन्टा र बाँकेको रूपैडिहा नाकाबाट सहज सडक पहुँच भएकाले उत्तराखण्ड, उत्तर प्रदेश तथा दिल्लीलगायत भारतीय सहरबाट समेत पर्यटक भित्र्याउन सकिने सम्भावना रहेको व्यवसायीहरूको भनाइ छ।
जालपादेवी केबलकार प्रालि तथा आइएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकालले यसलाई केवल पर्यटन परियोजना नभई सुदूरपश्चिमको आर्थिक रूपान्तरणको माध्यमका रूपमा लिइएको बताए । उनका अनुसार पर्यटन पूर्वाधार विस्तारमार्फत पर्यटकको बसाइ लम्ब्याउने, स्थानीय अर्थतन्त्रलाई मजबुत बनाउने र सातै प्रदेशमा यस्तै प्रकृतिका पर्यटन पूर्वाधार विकास गर्ने दीर्घकालीन लक्ष्य समूहले अघि सारेको छ।
वर्षौँदेखि सम्भावनामा सीमित रहेको कर्णाली किनारको प्राकृतिक र सांस्कृतिक सम्पदालाई आर्थिक अवसरमा रूपान्तरण गर्ने विश्वासका साथ अघि बढाइएको जालपादेवी केबलकार परियोजनाले सुदूरपश्चिमको पर्यटन र समग्र आर्थिक विकासमा नयाँ अध्याय सुरु गर्ने अपेक्षा गरिएको छ।



