नदी क्षेत्र खुम्चँदै आवास क्षेत्र बढ्दै

कामाडौँ, फागुन ३० गते । महोत्तरी जिल्लाको बर्दिबास नगरपालिका क्षेत्रमा नदी, खोलाखोल्सी र सिमसारक्षेत्र खुम्चने र आवासक्षेत्र बढ्दो क्रममा देखिएको छ । बर्दिबास नगरपालिकाको स्थानीय भू–उपयोग परिषद्बाट हालै सार्वजनिक जग्गा वर्गीकरण अभिलेखले यस्तो तथ्याङ्क देखाएको हो । पछिल्लो सात वर्षमा नज्ञदी, खोल्साखोल्सी र सिमसार क्षेत्रको क्षेत्रफल सात सय ३५ हेक्टरले घटेको छ ।

विक्रम सम्वत् २०७२ साल (सन् २०१७) मा तीन हजार छ सय ६१ हेक्टर रहेको यस्तो क्षेत्र अहिले नक्साङ्कन गर्दा दुई हजार नौ सय २६ मा सीमित भएको हो । यसअघिको नदी, खोल्साखोल्सीमा बाँध, तटबन्ध बाँधिएर उकास भएको यो क्षेत्र अन्य उपयोगमा गएपछि घटेको नयाँ नक्साङ्कन गर्ने संस्था स्मार्ट सिटी विल्डर्स प्रालि निजगढ बाराका भू–विज्ञ मोहन राउतले बताउनुभयो ।

नगरको यसपालिको भू–प्रकृतिका १० मापदण्डका आधारमा वर्गीकरण गर्नेगरी नगर कार्यपालिकाको कार्यालयले यो संस्थालाई जिम्मेवारी दिएको थियो । अहिले यसै संस्थाका विज्ञबाट गरिएको नक्साङ्न अनुसारको वर्गीकरण नै नगरपालिकाले पारित गर्दै सार्वजनिक गरेको हो ।

जिल्ला भएर बग्ने सबैजसो नदीको उद्गमस्थल बर्दिबास नगरक्षेत्रमै पर्छ । चुरे पर्वत श्रेणीबाट नदी, खोल्साखोल्सी निस्कने र सिन्धुली जिल्लासँग महोत्तरीको सीमा छुट्टिने सम्पूर्ण चुरे पहाड र यसका शृङ्खला यसै नगरक्षेत्रमा पर्छन् । यसै अवधिमा नगरको आवास क्षेत्रभने ह्वात्तै बढेको छ । सात वर्षअघि करिब चार सय ७१ (४७० दशमलव ८२) हेक्टर मात्र आवास क्षेत्र रहेको यस नगरमा अहिले यो बढेर दुई हजार सात सय सात हेक्टर पुगेको छ ।

बढ्दो सहरीकरणले आवास क्षेत्र बढाएको वर्गीकरण नक्साङ्कनमा संलग्न अर्का विज्ञ (भू–विज्ञ, इञ्जिनियर) विष्णु महर्जनको भनाइ छ । विक्रम सम्वत् २०७१ साल मङ्सिर १६ गते तत्कालीन बर्दिबास, किसाननगर, माइस्थान र गौरीबास गाविस समेटेर नगरपालिका घोषणा गरिएको बर्दिबास नगरपालिकामा २०७४ सालको निर्वाचनअघि पहिलेका हाथीलेट, विजलपुरा, पशुपतिनगर र खयरमारा गाविस पनि समेटिएका छन् । नगरमा १४ वडा छन् ।

भू–उपयोगको आधारमा वर्गिकृत नक्सा जारी गर्ने पनि बर्दिबास जिल्लाकै पहिलो स्थानीय तह बनेको जिल्ला समन्वय समिति महोत्तरीका प्रमुख सुमनकुमार लालकर्णले जानकारी दिनुभयो ।
जिल्लामा सबैभन्दा बढी वन पनि बर्दिबास नगरक्षेत्रमै छ । यस नगरक्षेत्रमा अहिले १८ हजार आठ सय ७३ हेक्टर रहेको वर्गीकृत अभिलेखमा उल्लेख छ । सात वर्ष पहिलेको भन्दा वनक्षेत्र चार हेक्टर घटेको नयाँ जारी वर्गीकृत नक्साको तथ्याङ्क देखाउँदै नगरप्रमुख प्रल्हादकुमार क्षेत्रीले बताउनुभयो ।

त्यसैगरी कृषि उपयोगमा पाँच हजार चार सय ८३, व्यावसायिक क्षेत्रमा आठ सय ८४, सार्वजनिक उपयोगको क्षेत्रमा छ सय ४९ खानी तथा खनिज क्षेत्रमा ११ हेक्टर (लगभग), सांस्कृतिक पुरातात्विक क्षेत्रमा ०५ दशमलव ४९ हेक्टर र औद्योगिक क्षेत्रमा सबैभन्दा कम शुन्य दशमलव१७ हेक्टर जग्गा वर्गीकरण गरिएको छ । अत्याधुनिक प्रविधिको प्रयोगबाट गरिएको वर्गीकरण वैज्ञानिक र वस्तुनिष्ठ रहेको नगर कार्यपालिकाको कार्यालयले जनाएको छ । नगरपालिकाले जग्गाको उपयोगका आधारमा नौ प्रकृति छुट्याएर वर्गीकरण गरेको छ । यो वर्गीकरणसँगै अब जग्गा किनबेच गर्दा, अंशवण्डा गर्दा स्थानीय नापी कार्यालयमा कित्ताकाट गर्ने बाटो खुलेको छ ।

यद्यपि कित्ताकाट गर्दा आवास क्षेत्रमा कम्तीमा ०७ दशमलव ७५ (पउने आठ धुर) र कृषि क्षेत्रमा दुई कठ्ठाभन्दा कम नकाटिने वर्गीकरण अभिलेखमा स्पष्ट गरिएको छ । स्थानीय तहले जग्गा वर्गीकरण नगर्दा/गर्न नभ्याउँदा लामो समयदेखि सर्वसाधारणको पारिवारिक अंशबण्डा र किनबेचमा कित्ताकाट रोकिएको थियो । यसले गर्दा कित्ताकाटबापतको सङ्कलन हुने राजस्व पनि प्रभावित थियो ।