प्रतिनिधिसभा निर्वाचनमा देशभर करिब ६० प्रतिशत मतदान : निर्वाचन आयोग

काठमाडौं – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनमा करिब ६० प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान सार्वजनिक गरेको छ ।

आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीका अनुसार देशभर सम्पन्न मतदानमा करिब ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको हो ।

“अहिलेसम्म प्राप्त विवरणका आधारमा करिब ६० प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान छ, तर सबै स्थानबाट विवरण सङ्कलन भइरहेको छ,” भण्डारीले बताउनुभयो ।

निर्वाचनमा कुल एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता सहभागी हुन पाउने व्यवस्था गरिएको थियो । तीमध्ये ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार १३१ महिला र २०० अन्य मतदाता रहेका थिए ।

आयोगका अनुसार देशभरबाट मतपेटिका सङ्कलनको काम जारी रहेको छ र विस्तृत विवरण क्रमशः सार्वजनिक गरिनेछ ।