खोज उद्धार अभ्यास सम्पन्न

काठमाडौँ, वैशाख २५ गते । विपद् व्यवस्थापनलाई प्रभावकारि बनाउन नेपाली सेनाले रसुवामा खोज तथा उद्धारको पुर्नरताजकी अभ्यास सम्पन्न गरेको छ ।

जिल्लाको भौगर्भिक अवस्था एवं अन्तर्राष्ट्रिय मार्गसमेत भएका कारण वर्षायाममा हुनसक्ने सवारी दुर्घटनाको साथै बाढी पहिराजस्ता प्रकृति विपद्ले पार्ने समस्या तत्काल व्यवस्थापन गर्न सेनाले सो अभ्यास मार्फत् दक्ष जन शक्ति तयार गरेको हो ।

गोसाइँकुण्ड गाउँपालिका–६ सोले नजिकको असहज स्थानमा विष्णुदल गणले गरेको सो अभ्यासमा नेपाली सेना, जिल्ला प्रहरी रसुवा , सशस्त्र प्रहरी बल २० नं गुल्म रसुवाका सुरक्षाकर्मीको साथै जिल्ला विपद् व्यवस्थापन समितिको साथै स्थानीय प्रशासनसँग सम्बन्धित प्रतिनिधिको सहभागिता रहेको थियो ।

जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार सो अभ्यास प्रशिक्षणमा स्थानीय बासिन्दा, जिल्ला समन्वय समितिका उपप्रमुख विजय लामा, गोसाइँकुण्ड गाउँपालिका अध्यक्ष कैसाङनुर्पु तामाङ, उत्तरगयाका गाउँपालिकाका अध्यक्ष माधवप्रसाद अर्याल, नौकुण्ड गाउँपालिका प्रतिनिधि कान्छा तामाङ र नेपाल रेडक्रस सभापति बाबुलाल तामाङलगायत सरकारी एवं सामाजिक क्षेत्रका अन्य प्रतिनिधिसमेतको सहभागी रहेको थियो ।

विपद् व्यवस्थापनका लागि सेनाले गरेको पुर्नरताजकी अभ्यास जनहितकारी भएको जनाउँदै रेडक्रस सभापति तामाङ भने विपद्को बेला उद्धारकर्ताबाट कसरी सेवा पाइन्छ भन्ने तौरतरिका जान्नसमेत समुदायलाई अवसर मिलेको बताउनुभयो ।

यस्तै गोसाइँकुण्ड गाउँपालिका, जिल्ला स्वास्थ्य कार्यालय, जिल्ला अस्पतालसमेतको सहयोगमा सो गणले बोकेझुण्डामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । ग्रामीण बासिन्दालाई निःशुल्करूपले प्राथमिक उपचार सेवा प्रदान गर्ने उद्देश्यले आयोजित सो स्वास्थ्य शिविरबाट ८० महिलासहित एक सय २१ जनालाई निःशुल्क स्वास्थ्य परीक्षण एवं औषधि वितरण गरिएको रसुवा जिल्ला अस्पतालका मेडिकल अधिकृत डा दीक्षान्त सिटौलाले बताउनुभयो ।

प्राथमिक उपचारका लागि आएका बासिन्दामा छाला, पेट, हाडजोर्ने तथा स्त्रीसम्बन्धी विविध रोगको समस्या भेटिएको चिकित्सकले बताएका छन् । बोकेझुण्डा गाउँमा पहिलो पटक सम्पन्न निःशुल्क स्वास्थ्य शिविरले स्वास्थ्य सेवामा सहयोग पुगेको स्थानीय विश्वकुमार घलेले जानकारी दिनुभयो ।