किसानलाई कृषि सामग्री वितरण

महोत्तरी, असार १९ गते । मटिहानी नगरपालिकाले किसानलाई सहयोगी कृषि सामग्री वितरण गरेको छ ।

तरकारी बालीको नयाँ पकेट कार्यक्रमअन्तर्गत मटिहानी–६ का ४० किसानलाई नगरपालिकाको कृषि शाखाले कृषि सामग्री वितरण गरेको हो । किसानलाई सिँचाइ प्रयोजनका लागि मोटर, डेलिभरी पाइप, औषधि छर्कने स्प्रे ट्याङ्की, गटोर स्प्रे, कोदालो, जैविक मल र भदौरे तरकारीको बीउसहितका सामग्री नगरप्रमुख हरिप्रसाद मण्डलले सोमबार वितरण गर्नुभयो ।

मटिहानी–५ तरकारी उत्पादनमा जिल्लाकै ‘पकेट’ क्षेत्रका रूपमा मानिदै आइएको छ । यहाँ करिब २० हेक्टर क्षेत्रफलमा ४० परिवार किसानले व्यावसायिकरूपमा तरकारी खेती गर्दै आएका कृषि शाखा प्रमुख टङ्कप्रसाद उपाध्यायले जानकारी दिनुभयो ।

मटिहानी–६ मा बर्सेनि न्यूनतम एक करोड मूल्यको तरकारी बिक्री हुँदै आएको शाखाले जनाएको छ । तरकारी खेतीमा लागेका किसानले खेतीका लागि आधारभूत कृषि सामग्री (बीउ, मल र कृषि ज्यावल÷उपकरण) पाएपछि राहत महसुस गरेका छन् ।

कृषि शाखाले मखान खेतीका एक सय किसानलाई मखानको बजारीकरणमा सहयोग पुग्ने सामग्री वितरण गरेको थियो । नगरपालिकाबाट पाएको सहयोगले खेतीमा लाग्न थप हौसला मिलेको स्थानीय किसान मुसाफिर सहनीको भनाइ छ । मखान र तरकारी बालीका अतिरिक्त अन्न बालीका किसानलाई पनि यसअघि उन्नत बीउ, जैविक मल र कृषि ज्यावल वितरण गरिएको कृषि शाखाले जनाएको छ ।