बाजुराका भूकम्पपिडीतको बास खोला किनारमा

बाजुरा, माघ १८ गते । भूकम्पका कारण बाजुराका भुकम्पपिडीतको खोला किनारमा बास भएको छ । यहिँ माघ १० गते हिमाली गाउँपालिकाको वडा नम्बर १ सावित विच्छ्या केन्द्रविन्दु भएर दिउँसो २ः४३ बजे ५.९ रेक्टरस्केलको भूकम्प गएको थियो । भूकम्पका कारण बाजुराका स्थानीयबासीको बिचल्ली भएको छ ।

सोका कारण एक जनाको मृत्यु भएको थियो भने चार जना घाइते भए । जिल्लामा छ सय बढी घर पूर्ण र आंशिकरूपमा क्षति पुग्यो । त्यसमा पनि गौमुल गाउँपालिका वडा नं २ आगर, जुरेली, दहकोट र नेडा बस्तीमा बढी क्षति भएको जिल्ला प्रशासन बाजुराले जनाएको छ ।

गौमुल गाउँपालिका–२ आगरमा रहेका दलित बस्तीका २५ परिवारको बिचल्ली छ । उहाँहरुको न खाने गाँस न त बस्ने बास नै छ । घरभित्र भएका लत्ताकपडा र अन्नसमेत निकाल्न नसकिने गरी घर चिरा–चिरा परेका छन् । भिरालो जमिनमा बनाइएका उक्त परिवारका घर एक फिटभन्दा बढी फाटेर गाउँवासी भित्र पस्नसमेतका सकेका छैनन् ।

सबै घर बस्नलायक नभएको गाउँपालिका अध्यक्ष हरिबहादुर रोकायाले जानकारी दिनुभयो । उक्त गाउँपालिकामा १ हजार छ सय ५० परिवारमध्ये पाँच सय ७० परिवारका घर जोखिममा छ । पाँच सय ७० परिवारका बासिन्दा सबै विस्थापित भएको गाउँपालिकाले जनाएको छ ।