मापदण्डभित्र परेका संरचना हटाउदै महानगर

पोखरा, असार २५ गते । पृथ्वी राजमार्ग अन्तर्गत पोखरा पृथ्वीचोकदेखि विजयपुर खोलासम्म राजमार्गको दायाँबायाँ (२३ मिटर) मापदण्डभित्र परेका संरचना हटाउन थालेको छ ।

पोखरा महानगरपालिकाले डोजर लगाएर सोमबारदेखि ती संरचना हटाउन सुरु गरेको छ ।

एक महिना अगाडि नै मापदण्डभित्र परेका संरचना हटाउन जानकारी दिइएको भए पनि अटेरी गरेकालाई हटाउन लागिएको महानगरका मेयर धनराज आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार स्थायी–अस्थायी गरेर ६० भन्दा संरचनामा डोजर चलाउन लागेको हो ।

‘बाटोका लागि एडीबीको टिम पर्सि आउँदैछ । त्यो भन्दा अगाडि राजमार्गको राइट अफ वे क्लियर गरौं भनेर महानगरले सहजीकरण गर्न लागेको हो,’ मेयर आचार्यले भन्नुभयो ।

एसियाली विकास बैंक (एडीबी)को सहयोगमा यो राजमार्गलाई विस्तार गरेर ४ लेन बनाउन लागिएको हो ।

विजयपुरदेखि लेखनाथ क्षेत्रमा भने मुआब्जाको विषय टुंगिन बाँकी रहेकाले त्यहाँका संरचना हटाउन केही समय लाग्ने महानगरले जनाएको छ ।