एमालेले गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग्ने

काठमाडौं, साउन १० गते । प्रमुख प्रतिपक्षी नेकपा एमालेको संसदीय दलको बैठकले गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा.प्रकाशशरण महतको राजीनामा माग्ने निर्णय गरेको छ ।

अवैध रुपमा सुन आयात हुँदा दुवै मन्त्रीले जिम्मेवारी कुशलतापूवर्क निर्वाह नगरेको एमालेका प्रमुख सचेतक पदम गिरी बताउनुभयो । उहाँ भन्नुहुन्छ ‘गृह र अर्थमन्त्रीले सुन काण्डको नैतिक जिम्मेवारी लिनुपर्छ । यो कुरा संसदमा हामी जोडदार रुपमा उठाउँछौं ।’

त्रिभुवन विमानस्थलमा भन्सार जाँच पास गर्ने कार्यमा गृह मन्त्रालय र अर्थ मन्त्रालय अन्तर्गतका निकायहरु रहने हुँदा दुवै मन्त्रीले नैतिक जिम्मेवारी लिनुपर्ने एमालेको धारणा रहेको गिरीले बताउनुभयो ।

प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्दै छ । उक्त बैठकमा एमालेले गृहमन्त्री र अर्थमन्त्रीलाई नैतिक जिम्मेवारी लिँदै राजीनामा माग्ने तयारी गरेको हो ।

साउन ३ गते त्रिभुवन विमानस्थलबाट बाहिरिएपछि राजश्व अनुसन्धानले करिब एक क्यीन्टल सुन बरादम गरेको थियो । यस प्रकरणमा संलग्न भएको आरोपमा हालसम्म १६ जना प्रकाउ परिसकेका छन् ।

करिब एक क्यीन्टल सुन अवैध रुपमा आयात भएको विषयमा पार्टीको थप धारणा तय गर्न एमालेले संसदीय दलको बैठक पनि डाकेको छ । संसदीय दलको बैठक मध्यान्ह १२ बजे नयाँ बानेश्वरस्थित संसदको लोत्से हलमा बस्नेछ ।