काठमाडौँ महानगरका प्रमुख प्रशासकीय अधिकृत परियारद्वारा पद बहाली

काठमाडौं, माघ १० गते । काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा प्रदीप परियारले आज पद बहाली गर्नुभएको छ । माघ ३ गतेको उहाँ राष्ट्रिय योजना आयोगबाट सरुवा भएर काठमाडौँ महानगरपालिकामा सरुवा हुनुभएको थियो ।

निवर्तमान प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारी मधेशी आयोगमा सरुवा भएपछि उहाँलाई महानगरमा सरुवा गरिएको हो ।

पदवहालीपछि उहाँले, वार्षिक नीति तथा कार्यक्रममा साझा दृष्टि बनाएर समूहगत कार्य प्रणालीबाट लक्ष्य प्राप्त गर्नु पर्ने बताउनुभयो । ‘स्थानीय सरकार लोकतन्त्रको प्रयोगशाला हो । हाम्रो सेवा प्रणालीबाट यसको परीक्षण हुन्छ । यसका लागि हामीले काम गर्नु पर्नेछ ।’

सांस्कृतिक पहिचान र पर्यटन प्रवर्धनमा काठमाडौँले काम गर्नु पर्ने बताउँदै उहाँले महानगर गौरब र स्वर्णिम योजनालाई सफल बनाउन, जनप्रतिनिधिको नीति र कार्यक्रमलाई कर्मचारी संयन्त्रले प्रभावकारी कार्यान्वयन गरेर सफलता प्राप्त गर्ने काममा दृढ रहेको उल्लेख गर्नुभयो ।

वि. सं. २०६९ सालमा नायव सुब्बा पदबाट निजामती सेवामा प्रवेश गर्नुभएका परियार २०७० सालमा शाखा अधिकृत र २०७८ सालमा राजपत्राङ्कित प्रथम श्रेणी सहसचिव पदमा पदस्थापन हुनुभएको हो ।

उहाँले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, राष्ट्रिय योजना आयोग, गृह मन्त्रालय, सहरी विकास मन्त्रालयलगायत कार्यालयमा काम गर्नुभएको छ ।

उहाँले अष्ट्रेलियन नेशनल युनिभर्सिटीबाट पब्लिक पोलिसी विषयमा स्नातकोत्तर गर्नुभएको छ ।