व्यावसायिक तरकारीखेती गरेर आत्मनिर्भर बन्दै मुक्तकमैया

कैलाली – शुक्लाफाँटा नगरपालिका–८ नौखरीका मुक्तकमैया परिवार आधुनिक मल्चिङ प्रविधिबाट व्यावसायिक तरकारीखेतीतर्फ आकर्षित भएका छन् । परम्परागत खेती प्रणालीमा निर्भर रहेका ती परिवारलाई मुक्तकमैया महिला विकास मञ्च धनगढीले आधुनिक प्रविधियुक्त तरकारीखेती गर्न सिकाएको हो ।

मञ्चका निवर्तमान अध्यक्ष कौशिला चौधरीका अनुसार २५ मुक्तकमैया परिवारलाई मल्चिङ प्लाष्टिकसहित खेती गर्ने तरिका सिकाउने कार्य गरिएको छ । “हामीले प्राविधिकको व्यवस्था गरी मुक्तकमैया परिवारको आयस्तर सुधारका लागि आधुनिक तरिकाले खेती गर्न सिकाएका हौँ,” उनले भने,“बीउविजन, रासायनिक मल र कीटनासक विषादी समेत अनुदानमा उपलब्ध गराएका छौँ ।”

मल्चिङ प्रविधिबाट खेती गर्न थालेपछि रोग कीरा र झारपातको समस्या घटेको स्थानीय किसान स्वस्तिमा चौधरीले बताए । “माटो चिस्यान राख्न यो प्रविधि निकै प्रभावकारी छ,” उनले भनिन्, “खुर्सानी, गोलभेँडा र सिमला मिर्चखेतीमा तीन वर्षदेखि यसको प्रयोग गर्दै आएका छौँ ।”

उनीका अनुसार यस प्रविधिबाट परम्परागत खेतीको तुलनामा दोब्बर उत्पादन हुन थालेको छ । पहिले सिजनमा रु ५० हजारदेखि ७० हजारसम्मको तरकारी बिक्री हुने गरेकोमा अहिले रु दुईदेखि पाँच लाखसम्मको बिक्री हुन थालेको छ ।

नगरपालिकाको कृषि विकास शाखाका अधिकृत विनयराज जोशीका अनुसार पछिल्ला वर्षमा किसानबीच मल्चिङ प्रविधिको प्रयोग तीव्र रूपमा बढ्दै गएको छ । “मल्चिङ प्लाष्टिकले माटोको नमी जोगाउँछ, झारपात नियन्त्रण गर्छ र बालीको उत्पादन वृद्धि गर्छ,” उनले भने,“यसले सिँचाइको आवश्यकता घटाउँछ र पानीको सदुपयोग सुनिश्चित गर्छ ।”

सूर्यको प्रकाश माटोसम्म नपुग्ने भएकाले झारपात उम्रन नपाउने, माटोको तापक्रम सन्तुलनमा राख्ने र बिरुवा स्वस्थ राख्ने यो प्रविधि किसानका लागि अत्यन्त उपयोगी रहेको उनले बताए । यसले मल बग्ने सम्भावना घटाउने र माटोमा रहेका पोषकतत्व स्थिर राख्ने भएकाले उत्पादनशीलता बढाउनेमा उनको भनाइ छ ।

मञ्चकी अध्यक्ष सीमा चौधरीका अनुसार मञ्चले विगत पाँच वर्षदेखि मुक्तकमैया महिलाको आयआर्जनका लागि तरकारीखेती, बङ्गुरपालन र कुखुरापालनजस्ता कार्यक्रम सञ्चालन गर्दै आएको छ । केही दिनअघि मात्रै १६ जना मुक्तकमैयालाई मल्चिङ प्लाष्टिक पूर्ण अनुदानमा वितरण गरिएको बताए ।

वडाध्यक्ष बहादुरसिंह महराले थोरै जग्गामा व्यावसायिक खेती गरेर मुक्तकमैया परिवार आत्मनिर्भर बन्दै गएकोमा सन्तोष व्यक्त गरे । उनले भने,“पहिले मजदुरीमा निर्भर रहेका परिवार अहिले आधुनिक खेती र सीपमा आधारित आम्दानीका माध्यमबाट आत्मनिर्भर बन्दै गएका छन् । वडाबाट पनि त्यस्ता परिवारलाई निरन्तर प्रोत्साहन दिइरहेका छौँ ।”