काठमाडौ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले नयाँ शक्तिहरू एकताबद्ध भएर अगाडि बढेमा अबको निर्वाचनपछि बन्ने सरकारको नेतृत्व गर्न सक्ने बताएका छन् । काभ्रेपलाञ्चोकको बनेपामा आज आयोजित उज्यालो नेपाल पार्टीको जिल्ला भेलामा बोल्दै उनले वैकल्पिक शक्ति बन्ने भनेर आएका सबै दल र समूह मिलेर अगाडि बढ्नुपर्ने र त्यसको अगुवाइ उज्यालो नेपाल पार्टीले गर्नुपर्ने धारणा व्यक्त गरे ।
मन्त्री घिसिङले पार्टीभित्र सबैलाई जोड्दै अघि बढ्न नेतृत्वलाई आग्रह गर्दै परिवर्तनका लागि संघर्ष अपरिहार्य हुने बताए । “जेन–जी पुस्ताको आन्दोलनपछि जुन ढंगले सरकार परिवर्तन भयो, त्यसपछि बन्ने निर्वाचनपछिको सरकार कस्तो हुन्छ भन्ने झनै महत्वपूर्ण छ,” उनले भने,“त्यस सरकारको नेतृत्व वैकल्पिक शक्ति भन्नेहरू सबै मिलेर गर्नुपर्छ, उज्यालो नेपाल पार्टीले त्यसको अगुवाइ गर्छ ।”
कार्यक्रममा उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य ज्ञानेन्द्र तामाङले सामाजिक न्याय, सुशासन र समृद्धिका लागि नेताहरू आफैँ अनुशासित र प्रतिबद्ध हुनुपर्ने आवश्यकता औँल्याए । अर्का केन्द्रीय सदस्य शङ्कर ढकालले पार्टी मध्यमार्गी धारबाट अघि बढ्ने र कुलमान घिसिङको नेतृत्वमा विद्युत् क्षेत्रमा अँध्यारोबाट उज्यालोतर्फ भएको परिवर्तनजस्तै अब देशलाई पनि अगाडि बढाउने भूमिका खेल्ने बताए ।
केन्द्रीय सदस्य रिमा विश्वकर्माले दक्ष र योग्य व्यक्तिलाई जिम्मेवारी दिएर देश निर्माणमा लाग्नुपर्ने धारणा राखे । कलाकारितालाई आफ्नो पेसा र धर्म मानेर अघि बढे पनि इमानदारी र लगनशीलतासँगै राजनीतिक परिवर्तनका लागि युवापुस्ताले रोपेको चेतनाको बीउले आफूलाई राजनीतिमा सक्रिय बनाएको उनले बताए ।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य जितराम लामा, ज्योत्सना सैंजु, सुमी लामालगायतले पनि आ–आफ्ना धारणा राखेका थिए । उज्यालो नेपाल पार्टीको जिल्ला भेलाले क्षितिज लामाको संयोजकत्वमा जिल्ला समिति गठन गरेको छ । त्यस्तै, युवा हेर्ने समितिको संयोजकमा निशान्त रत्न बास्ताकोटी र सहसंयोजकमा अविरल लामालाई जिम्मेवारी दिइएको छ भने समितिलाई पछि पूर्णता दिइने केन्द्रीय सदस्य जितराम लामाले जानकारी दिए ।



