चार लेनको मादी पुल अन्तिम चरणमा

काठमाडौं – मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुल आगामी वैशाखभित्र सम्पन्न गर्ने लक्ष्यसहित कामलाई तीव्रता दिइएको छ । व्यास नगरपालिका–४ र ५ जोड्ने मादी नदीमाथि निर्माण भइरहेको पुलको हालसम्म ७४ प्रतिशत भौतिक प्रगति भएको मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड)ले जनाएको छ ।

उक्त योजनाका इन्जिनियर तथा सूचना अधिकारी विष्णुप्रसाद पाण्डेका अनुसार पुल निर्माणको अब २६ प्रतिशत काम मात्र बाँकी छ । तीन वर्षभित्र सम्पन्न गर्नेगरी सुरु गरिएको पुलको ठेक्काको म्याद गत भदौ २१ गते सकिएपछि आगामी असार १९ गतेसम्म म्याद थप गरिएको छ । थपिएको म्यादभित्र काम सम्पन्न गर्ने प्रतिबद्धता निर्माण कम्पनीबाट आएको उनले बताए । हाल पुलको वित्तीय प्रगति ७० प्रतिशत पुगेको छ ।

२०७९ साल साउन २६ गते निर्माण कम्पनीसँग सम्झौता भई काम सुरु भएको यो पुल ३१५ मिटर लामो र २३ मिटर चौडाइको हुनेछ । छवटा स्पान रहने पुल नेपालमै पहिलो पटक एउटै मोनोलेथिक संरचनामा निर्माण भइरहेको पाण्डेको भनाइ छ । पुलका वारिपारि दुई–दुई प्रिस्टेट्स बक्स गडर स्पानको काम सम्पन्न भइसकेको छ भने फाउन्डेसनदेखि सुपर स्ट्रक्चरको काम सकिएको छ । बीचका दुईवटा स्पान भने कङ्क्रिट नेचर आर्क ब्रिज डिजाइनका ६३–६३ मिटरका छन्, जसको काम भइरहेको छ ।

भ्याटसहित रु एक अर्ब २१ करोड लागतमा निर्माण भइरहेको उक्त पुल पृथ्वी राजमार्गकै सबैभन्दा लामो आर्क डिजाइनको चार लेनको पुल हुनेछ । हाल नदीमाथि रहेको दुई लेनको ३७० मिटर लामो पुलभन्दा करिब ५० मिटर दूरीमा नयाँ पुल निर्माण भइरहेको हो ।

यसैबीच, मुग्लिन–पोखरा सडकखण्डको पूर्वी खण्डमा समग्रमा ८८ प्रतिशत प्रगति भएको पाण्डेले जानकारी दिए । सडक कालोपत्रे सकिएको र अन्तिम चरणका काम मात्र बाँकी रहेको उनले बताए । पुलको पहुँचमार्ग निर्माण भने हालै सुरु भएको छ ।

निर्माण कम्पनीका व्यवस्थापक दिनेशकुमार श्रेष्ठले निर्धारित म्यादअगावै वैशाखमै पुल निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको जानकारी दिए । पुल निर्माणका लागि हाल दैनिक करिब १५० कामदार खटाइएको उनले बताए । पुलका दायाँबायाँ पाँच सय मिटर पहुँच सडक निर्माण गर्न बाँकी रहेको र त्यसका लागि घर तथा भवन हटाउनुपर्ने चुनौती रहेको उनले उल्लेख गरे ।